शालीन पोखरेले मृत्यु प्रकरण : अनुसन्धान प्रभावित हुने कुनै पनि सामग्रीहरू सम्प्रेषण नगर्न आग्रह



शालीन पोखरेले मृत्यु प्रकरण

काठमाडौँ । चितवनमा मृत फेला परेकी बालिका शालीन पोखरेलबारे अनुसन्धान प्रभावित हुने गरी कुनै पनि सामग्रीहरू सम्प्रेषण नगर्न प्रहरीले आग्रह गरेको छ । रत्ननगरस्थित एकता शिशु निकेतनको होस्टेलमा झुन्डिएको अवस्थामा मृत फेला परेकी बालिका पोखरेलको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

घटनाका विषयमा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा फरक–फरक धारणाहरू सार्वजनिक भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको प्रहरीले जनाएको छ । चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्रीराम भण्डारीले विज्ञप्ति जारी गरेर वैज्ञानिक तथ्यका आधारमा वस्तुनिष्ठ अनुसन्धान जारी रहेको र वैज्ञानिक परीक्षणको रिपोर्ट हालसम्म प्राप्त नभइसकेको अवस्थामा अनुसन्धान कार्यमा प्रभाव पार्ने गरी कुनै पनि विषयवस्तु सम्प्रेषण नगर्न अनुरोध गरेका छन् ।

प्रहरीले स्कुलका प्रधानाध्यापक बालहरि देवकोटासहित ३ जनालाई पक्राउ गरेको छ । स्कुल पक्षले बालिकाले आत्महत्या गरेको दाबी गर्दै आएको छ भने परिवारका तर्फबाट बलात्कारपछि हत्या भएको आरोपमा किटानी जाहेरी परेको छ ।

प्रतिक्रिया दिनुहोस्