साम्बाको गोलमा ग्वेंगाम्पको महत्त्वपूर्ण जित



काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ ले गोल गरेको खेलमा एन अभान्ट ग्वेंगाम्पले शीर्ष डिभिजन लिगमा लिलविरुद्ध महत्त्वपूर्ण जित निकालेको छ ।

वाफ च्याम्पियनसिपको फाइनल गुमाएर लिगको खेल खेल्न पुगेकी साम्बाले बेन्चबाट मैदान प्रवेश गर्दै २-० को जितमा गोल गरेकी हुन् । उनको लिगमा यो पहिलो गोल समेत हो ।

साम्बाले खेलको ८६ औँ मिनेटमा मैदान प्रवेश गर्दै इन्ज्युरी समयमा गोल गरेकी हुन् । इन्ज्युरी समयको पहिलो मिनेटमा विपक्षीबाट सहकर्मीले खोसेको बललाई अघि बढाउँदै साम्बाले वन भर्सेस वनमा सुन्दर फिनिस गरिन् ।

त्यसअघि दोस्रो हाफको सुरुवातमा एन्टोइन स्टारोभाले पेनाल्टीमा गोल गर्दै ग्वेंगाम्पलाई अग्रता दिलाएकी थिइन् । यस जितले ग्वेंगाम्प अङ्क तालिकाको नवौँ स्थानमा उक्लिएको छ । १६ खेलमा टोलीको १५ अङ्क पुगेको छ । रेलिगेसन क्षेत्रबाट अब क्लब ७ अङ्कले माथि छ ।

प्रतिक्रिया दिनुहोस्