अभिनय सबैभन्दा असुरक्षित पेसा, ‘प्लान बी’ बनाएर आउनुस् : राजेश हमाल



काठमाडौँ । अभिनेता राजेश हमालले अभिनय सबैभन्दा असुरक्षित पेसा भएको बताएका छन्  । उनले अभिनय सबैभन्दा असुरक्षित पेसा भएकाले ‘प्लान बी’ बनाएर आउन नयाँपुस्तालाई आग्रह गरेका छन् । सीतापाइलास्थित विल्सन एकेडेमीको २९ औं वार्षिकोत्सवमा बालबालिकासँगको अन्तरक्रियाका क्रममा अभिनेता हमालले यस्तो बताएका हुन् ।

अभिनयसँगै उनले पर्फमिङ आर्ट्सका अन्य विधाहरू फोटोग्राफी, खेलकुद र सङ्गीत पनि नेपालमा असुरक्षित पेसाको रूपमा रहेको बताए । उनले, ‘अभिनय करिअर अरू पेसाजस्तो होइन । सुरुमा तिमीले यो सुनिश्चित गर्नुपर्छ कि तिमीलाई भित्रैदेखि इच्छा छ कि छैन रु अभिनय करिअर सजिलो पेसा होइन । अभिनय पेसा अरू पेसाजस्तो सुरक्षित छैन । यस कारण अभिभावकले यो पेसामा लाग्न प्रोत्साहित गर्दैनन् ।’

हमालले सेना, प्रहरी र शिक्षकजस्ता पेसा सुरक्षित पेसा  भएको बताउँदै । यदि यी पेसामा वर्षौँ काम गरेपछि अवकाश हुँदा पेन्सन पाइने बताए । उनले अभिनयजस्ता पर्फमिङ आर्ट्समा टिकिरहन मुस्किल हुने बताए । ‘यी पेसामा टिकिरहन तिमीले आफ्नो प्रतिभालाई निरन्तरता दिइराख्नुपर्छ । मागअनुसार आफूलाई प्रस्तुत गर्नुपर्छ । अन्यथा तिमी हराउने जोखिम रहिरहन्छ,’ हमालले भने ।

उनले  भने, ‘३४ वर्षअघि मलाई यो क्षेत्रमा हुन्छु या हुँदिन भन्ने थाहा थिएन । मेरो पहिलो फिल्म रिलिज हुँदा, मेरो दोस्रो फिल्म कहिले आउँछ भन्ने कुरा मलाई थाहा थिएन । मैले अहिले फिल्म गरिरहँदा अर्को वर्ष फिल्म गर्न सक्छु कि सक्दिन भन्नेमा म निश्चित पनि थिइनँ । प्रत्येक वर्ष मेरा लागि चुनौतीपूर्ण वर्ष थिए ।’

समय बित्दै जाँदा कलाकारलाई मानिसले मन नपराउन पनि सक्ने उनको विश्लेषण छ । उनले भने, ‘पहिलो, दोस्रो, तेस्रो र चौथो वर्ष पुग्दा मानिसले मलाई मन नपराउन सक्छन् । त्यसपछि मेरो करिअर रोकिन सक्छ । यस कारण म अभिनय क्षेत्रलाई असुरक्षित क्षेत्र भन्दै छु ।’

प्रतिक्रिया दिनुहोस्