साफ यू-१६ फुटबल : नेपालले भुटानलाई ३–० गोल अन्तरले  हरायो



काठमाडौँ । साफ यू-१६ महिला च्याम्पियनसिपमा आयोजक नेपालले भुटानलाई ३–० ले पराजित गरेको छ । नेपालले पहिलो हाफमा नै ३ गोल गरेको हो । नेपालका लागि १४ औँ मिनेटमा पूजा गिरीले गोल गर्दै अग्रता दिलाएकी थिइन् । उनले पेनाल्टी क्षेत्रबाट गरेको गोलले पोष्टको जाली चुमेको हो । पहिलो गोलको ४ मिनेटपछि कप्तान भूमिका बुढाथोकीले गोल गर्दै अग्रता दोब्बर बनाएकी हुन् ।

त्यस्तै खेलको ३१ औँ मिनेटमा नेपालका लागि ग्यान्सु डोल्मा लोले फ्रि किकबाट सिधै गोल गरेकी हुन् । डी बक्स बाहिर पाएको फ्रिकिक भुटानकी गोलरक्षक खेल्जाङ् वाङ्मोको हातको टुप्पामा लाग्दै गोल भएको हो । खेलको ३८ औँ मिनेटमा भुटानले पेनाल्टी मार्फत नेपाललाई गोल फर्काउने अवसर पाएको थियो । जसमा नेपालकी गोलरक्षक झरना डुम्राकोटीले उत्कृष्ट बचाउ गरिन् ।

नेपालले पहिलो खेलमा बङ्गलादेशसँग २–० ले पराजित भएको थियो । भुटान भने पहिलो खेलमा भारतसँग ७–० ले पराजित भएको थियो । नेपालले अब बिहीबार भारतसँग खेल्ने छ । यस प्रतियोगितको फाइनल शीर्ष २ टिमबिच फागुन २७ गते आइतबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्