फाइनलमा नेदरल्यान्ड्सलाई नेपालको १ सय ८५ रनको प्रतिस्पर्धात्मक लक्ष्य



त्रिकोणात्मक टि२० सिरिज

काठमाडौँ । त्रिकोणात्मक टि२० सिरिजको फाइनलमा नेपालले नेदरल्यान्ड्ससामु १ सय ८५ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।  टियु क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट १ सय ८४ गुमाएर रन जोडेको हो ।अन्त्यतिर लगातार विकेट गुमाउँदा नेपाल डेथ ओभरमा दबाबमा परेको थियो ।

नेपालका लागि सर्वाधिक योगदान दिएका ओपनर आसिफ शेख अर्धशतकबाट चुके । ४७ रनमा माइकल लेभिटको एलबीडब्लु धरापमा परेका उनले ३७ बलमा १ चौका र ३ छक्का प्रहार गरे । उनी १४ औँ ओभरको चौथो बलमा पेभेलियन फर्किएका थिए ।

गुलशन झाले २५ बलमा ३ छक्कासहित ३४ रनको योगदान दिएका थिए । उनी सातौं विकेटको रुपमा १९ औँ ओभरमा आउट भएका थिए । तेस्रो ओभरको पहिलो बलमा आसिफले २ रनमा रहँदा जीवनदान पाएका थिए । भिभिएन किंग्माको बलमा मिडविकेटमा माइकल लेभिटले सहज क्याच छोडेका थिए । ११ औँ ओभरको पाँचौँ बलमा पनि आसिफ जोगिए । माइकल लेभिटको बलमा किंग्माले थर्ड म्यानमा क्याच समाउन नसक्दा बल चौका भएको थियो ।

त्यसअघि चौथो ओभरको तेस्रो बलमा कुशल भुर्तेल आउट भए । दोस्रो बलमा छक्का प्रहार गरेपछि तेस्रो बलमा पनि स्टम्प पछाडी सट खेल्ने धुनमा उनी बोल्ड भए । उनले १० बलमा १ चौका र २ छक्कासहित २० रन जोडे ।

दोस्रो विकेटका लागि रोहित र आसिफले ५९ रनको साझेदारी गरे । रोहित दसौँ ओभरको दोस्रो बलमा स्कुप सट प्रहार गर्ने धुनमा टप एज लाग्दै विकेटकिपरको हातबाट समातिए । रोहितले १९ बलमा ३ चौका र १ छक्कासहित २५ रन जोडे ।

दीपेन्द्र १ रन जोड्दै टिम भान डर गुग्टेनबाट एलबीडब्लु आउट भए । कुशल मल्ल ११ बलमा ३ छक्कासहित २६ रन जोड्दै लङ अफमा विक्रमजित सिंहको हातबाट समातिए । करण केसीले ४ बलमा १ छक्कासहित ९ रन जोडे ।

आरिफ शेख ठुलो सट खेल्ने धुनमा पहिलो बलमै क्याच आउट भए । एक समय १७ ओभरमा १५८-४ को स्थितिमा रहेको नेपाल लगातार विकेट गुमाउँदा १८.२ ओभरमा १६८-८ को स्थितिमा पुगेको थियो । नेपालले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो । नेपालले आज टोलीमा कुनै परिवर्तन गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्