नेपाललाई हराउँदै नेदरल्यान्ड्सले जित्यो सिरिज उपाधि



काठमाडौँ । त्रिकोणात्मक टि२० सिरिजको उपाधि नेदरल्यान्ड्सले जितेको छ । फाइनलमा नेपाललाई ४ विकेटले हराउँदै नेदरल्यान्ड्सले उपाधि जितेको हो । टियु क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य नेदरल्यान्ड्सले ६ विकेट गुमाएर अन्तिम ओभरमा पूरा गरेको हो ।

नेदरल्यान्ड्सका लागि ओपनर माइकल लेभिटले अर्धशतक बनाउँदा साइब्रान्ड एंगलब्रेक्टले ४८ रनको आक्रामक इनिङ खेले । एंगलब्रेक्टले २९ बलमा ४ चौका र ३ छक्का बनाएका थिए । उनले १८ औँ ओभरमा लगातार २ छक्का र २ चौका प्रहार गर्दै खेलमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।

त्यसअघि पहिलो विकेटका लागि माइकल लेभिट र म्याक्स ओ’डाउडले ८३ रनको आक्रामक साझेदारी गर्दै पाहुना टोलीलाई राम्रो सुरुवात दिलाए । नवौं ओभरमा कुशल मल्लले दुवैलाई आउट गर्दै नेपाललाई खेलमा फर्काएका थिए ।

म्याक्स २३ बलमा २२ रन जोड्दै पहिलो बलमा क्याच आउट भए । पाँचौ बलमा लेभिट पनि पेभेलियन फर्किए । उनले २९ बलमा ६ चौका र ३ छक्कासहित ५४ रन जोडे । दशौं ओभरमा रोहितले २ रनमात्र खर्चेपछि नेपाल खेलमा फर्किएको थियो ।

तर विक्रमजित सिंहले ११ औँ ओभरमा लगातार तीन छक्का प्रहार गर्दै नेदरल्यान्ड्सतर्फ मोमेन्टम फर्काए । अर्को ओभरमा रोहितले पनि १४ रन खर्चंदा नेपाल दबाबमा पर्‍यो । तर त्यसपछिको ३ ओभरमा प्रतिश र दीपेन्द्रले मात्र १३ रन खर्चेपछि खेल सन्तुलनमा आयो ।

अन्तिम ५ ओभरमा नेदरल्यान्ड्सलाई जितका लागि ५२ रन आवश्यक पर्दा १६ औँ ओभरमा अभिनाशले ९ रन दिए । १७ औँ ओभरमा दीपेन्द्रले मात्र ४ रन खर्चेर स्कट एडवार्ड्सलाई आउट गर्दा नेपाल अघि रहेको थियो ।

१८ औँ ओभरमा अभिनाशले २१ रन खर्चेपछि नेदरल्यान्ड्सलाई अन्तिम २ ओभरमा १९ रन आवश्यक थियो । १९ औँ ओभरको पहिलो बलमा कुशलले साइब्रान्ड एंगलब्रेक्टको विकेट लिँदै झिनो आशा दिलाए । अर्को बलमा भान डर गुग्टेनले छक्का प्रहार गरे । चौथो बलमा तेजा निदामनुरु लङ अनमा क्याच आउट भएपछि खेल रोमान्चक बनेको थियो ।

अन्तिम बलमा चौका प्रहार गर्दा नेदरल्यान्ड्सलाई अन्तिम ओभरमा ७ रन आवश्यक थियो । अन्तिम ओभरमा भान डर गुग्टेनले चौका र छक्का प्रहार गर्दै जित पक्का गरे ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट १ सय ८४ गुमाएर रन जोडेको थियो । एक समय विशाल लक्ष्यतर्फ अग्रसर नेपालले बिचमा रनगति बढाउन नसक्दा त्यहाँसम्म पुग्न सकेन ।

नेपालका लागि सर्वाधिक योगदान दिएका ओपनर आसिफ शेख ४७ रनमा माइकल लेभिटको एलबीडब्लु धरापमा परेका उनले ३७ बलमा १ चौका र ३ छक्का प्रहार गरे । उनी १४ औँ ओभरको चौथो बलमा पेभेलियन फर्किएका थिए । गुलशन झाले २५ बलमा ३ छक्कासहित ३४ रनको योगदान दिएका थिए । उनी सातौं विकेटको रुपमा १९ औँ ओभरमा आउट भएका थिए ।

तेस्रो ओभरको पहिलो बलमा आसिफले २ रनमा रहँदा जीवनदान पाएका थिए । भिभिएन किंग्माको बलमा मिडविकेटमा माइकल लेभिटले सहज क्याच छोडेका थिए । ११ औँ ओभरको पाँचौ बलमा पनि आसिफ जोगिए । माइकल लेभिटको बलमा किंग्माले थर्ड म्यानमा क्याच समाउन नसक्दा बल चौका भएको थियो ।

त्यसअघि चौथो ओभरको तेस्रो बलमा कुशल भुर्तेल आउट भए । दोस्रो बलमा छक्का प्रहार गरेपछि तेस्रो बलमा पनि स्टम्प पछाडी सट खेल्ने धुनमा उनी बोल्ड भए । उनले १० बलमा १ चौका र २ छक्कासहित २० रन जोडे ।

दोस्रो विकेटका लागि रोहित र आसिफले ५९ रनको साझेदारी गरे । रोहित दशौं ओभरको दोस्रो बलमा स्कुप सट प्रहार गर्ने धुनमा टप एज लाग्दै विकेटकिपरको हातबाट समातिए । रोहितले १९ बलमा ३ चौका र १ छक्कासहित २५ रन जोडे । दीपेन्द्र १ रन जोड्दै टिम भान डर गुग्टेनबाट एलबीडब्लु आउट भए । कुशल मल्ल ११ बलमा ३ छक्कासहित २६ रन जोड्दै लङ अफमा विक्रमजित सिंहको हातबाट समातिए । करण केसीले ४ बलमा १ छक्कासहित ९ रन जोडे ।

आरिफ शेख ठूलो सट खेल्ने धुनमा पहिलो बलमै क्याच आउट भए । एक समय १७ ओभरमा १५८-४ को स्थितिमा रहेको नेपाल लगातार विकेट गुमाउँदा १८.२ ओभरमा १६८-८ को स्थितिमा पुगेको थियो । नेपालले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो । नेपालले आज टोलीमा कुनै परिवर्तन गरेको थिएन ।

प्रतिक्रिया दिनुहोस्