लिभरपुल र म्यान्चेस्टर सिटीको बराबरी



काठमाडौँ । दुई महारथीको भिडन्तको रूपमा हेरिएको लिभरपुल र म्यानचेस्टर सिटी बिचको खेल बराबरीमा सकिएको छ । इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुलको घरेलु मैदान एनफिल्डमा आइतबार राती भएको खेल १-१ को बराबरीमा सकिएको हो ।

बराबरी सँगै दुवै टोलीले आर्सनललाई उछिनेर पहिलो स्थानमा उक्लिने मौका गुमाएका छन् । खेलको २३औँ मिनेटमा जोन स्टोन्सको गोलको मद्दतमा सिटीले खेलमा अग्रता बनाएको थियो । केभिन डी ब्रुइनले खेलेको चतुर कर्नर किकमा स्टोन्सले गोल गर्दै खेलमा सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफको सुरुवातमै लिभरपुलले पेनाल्टी मार्फत बराबरी गर्ने अवसर पायो । गोलरक्षक एडर्शनले डार्विन नुनेज माथि फाउल गरेपछि पाएको पेनाल्टीमा एलेक्सिस मक्यालिस्टरले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

त्यसपछि पनि खेलमा निकै मौकाहरुमा दुवै टोली चुक्न पुगे । बराबरी पछि आर्सनल पहिलो स्थानमा यथावत् रहेको छ । आर्सनलको २८ खेलमा ६४ अङ्क छ । समान २८ खेलमा ६४ अङ्क नै रहेको लिभरपुल गोल अन्तरका आधारमा दोस्रो छ । सिटीको भने २८ खेलमा ६३ अङ्क छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्