स्रोत नखुलेको रकमसहित पाँच जना पक्राउ



काठमाडौँ । प्रहरीले स्रोत नखुलेको रकमसहित पाँच जना पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका-४ गणेशपुरस्थित संतोषी दङगाली होटेलबाट स्रोत नखुलेको नगद ५७ लाख २८ हजार ७ सय नेपाली रुपैयाँ र ११ लाख भारतीय रुपैयाँसहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१६ बस्ने ३५ वर्षीय रोहित क्षेत्री, उक्त होटेल सञ्चालक दाङ तुलसिपुर उपमहानगरपालिका-९ बस्ने ४३ वर्षीय कृष्ण बहादुर विक र भारत बहराइज बस्ने ४१ वर्षीय राहुल जैसवाल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले होटेल जाँच गर्ने क्रममा होटलको कोठामा झोलामा राखिएको उक्त नगदसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसै गरी, नेपालगन्ज उपमहानगरपालिका-२ पुष्पलाल चोकस्थित कालिका न्यु कर्णाली होटेलबाट श्रोत नखुलेको नगद ३४ लाख नेपाली रुपैयाँ र ४ लाख ४० हजार भारतीय रुपैयाँसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१६ बस्ने ५० वर्षीय सलिम जोलाह र उनकै छोरा २८ वर्षीय आसिप जोलाह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्