रुसमा विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु



विमान दुर्घटना

मस्को । मस्कोको उत्तर पूर्वी इभानोभो क्षेत्रको कब्रिस्तान नजिकै रुसी सैन्य कार्गो विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । उडानपछि विमानको एउटा इन्जिनमा आगो लागेपछि  आइएल–७६  विमान जङ्गलमा खसेको रुसी सञ्चारमाध्यकहरुले जनाएका छन् ।

सैन्य कार्गो विमान दुर्घटना हुँदा जहाजमा आठ जना चालक दलका सदस्य र सात यात्रु सहित १५ जना थिए । अझैसम्म यात्रुहरूको परिचय तथा गन्तव्य भने स्पष्ट हुन सकेको छैन । अनलाइन समाचार माध्यमहरूले दुर्घटनामा पर्ने सबैको मृत्यु भएको जनाएका छन् ।

मस्कोको स्थानीय समयअनुसार दिउँसो एक बजे  एक आइएल–७६  सैन्य यातायात विमान इभानोवो क्षेत्रमा निर्धारित उडानको लागि टेकअफ गर्दा दुर्घटनाग्रस्त भएको राज्यद्वारा सञ्चालित तास समाचार एजेन्सीले उद्धृत गरेको छ ।

इन्जिनमा आगलागी लागेका कारण दुर्घटनाको भएको मन्त्रालयले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ । ‘सेभर्नी’ शिविरबाट विमानले उडान भरे लगत्तै इन्जिनमा आगो लागेको विज्ञप्तिमा उल्लेख छ ।

चालकहरूले आपत्कालीन अवतरणका लागि एयरफिल्डमा फर्कने प्रयास गरे पनि उनीहरूको उक्त प्रयास सफल नभएको मन्त्रालयले जनाएको छ ।

टेलिग्राम च्यानल–११२ ले जनाएअनुसार बोगोरोड्स्को गाउँ बाहिरको चिहान नजिकैको जङ्गलमा दुर्घटना हुनुअघि जलिरहेको विमानलाई आवासीय क्षेत्रभन्दा बाहिर निकाल्न चालकदल सक्षम भएको थियो ।

यो दुर्घटना यो वर्षको दोस्रो आईएल– ७६ दुर्घटना हो । सन् २०२४ को जनवरी २४ मा युक्रेनी सशस्त्र बलले ६५ युक्रेनी युद्ध बन्दीसहित ७४ जना यात्रु बोकेको विमान खस्दा सबैको मृत्यु भएको रुसी समाचार संस्था तासले जनाएको छ ।  एजेन्सी

प्रतिक्रिया दिनुहोस्