पाठ्यपुस्तक ढुवानी सुरु



काठमाडौँ । आगामी २०८१ सालको शैक्षिक सत्रमा विद्यालय तहका विद्यार्थीका लागि आवश्यक पर्ने पाठ्यपुस्तक छपाइ कार्य सकिँदै छ । अहिलेकै गतिमा पुस्तक छपाइ कार्य जारी रहेमा सामुदायिक विद्यालयका विद्यार्थीले भर्ना भएकै दिन पाठ्यपुस्तक पाउने छन् । देशभरिका सबै जिल्लामा वैशाख १ गतेबाट शैक्षिक सत्र सुरु हुने छ । कक्षा ५ देखि १२ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्रले ९० प्रतिशतभन्दा बढी पाठ्यपुस्तक छपाइ भइसकेको जनाएको छ । जनक शिक्षाले चैत १५ देखि पाठ्यपुस्तकको बिक्री खुला गर्ने योजना बनाएको छ । तयार पाठ्यपुस्तकलाई जिल्लाका बिक्री केन्द्रमा पठाउन ढुवानी कार्य पनि सँगसँगै जारी छ ।

आउँदो शैक्षिक सत्रका लागि जनक शिक्षाले एक करोड ७५ लाख थान पाठ्यपुस्तक छाप्नुपर्ने हुन्छ । केन्द्रका प्रबन्ध सञ्चालक अनिल झाले हालसम्म एक करोड ५७ लाख थान छापिसकिएको जानकारी दिनुभयो । कक्षा ५ को पुस्तक मात्रै छाप्न बाँकी छ । कक्षा ५ मा छाप्नुपर्ने कुल २४ लाख थान पाठ्यपुस्तकमध्ये छ लाख थान छापिसकिएको छ । उहाँले बाँकी १८ लाख थान पाठ्यपुस्तक १५ दिनभित्रमा छपाइ सम्पन्न गरेर वितरण गर्न सुरु गर्ने दाबी गर्नुभयो । पाठ्यपुस्तक छपाइको अवस्थाबारे जानकारी लिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ सानोठिमीस्थित जनक शिक्षामा पुग्नुभएको थियो । उहाँले विद्यार्थीले भर्ना भएकै दिन हातहातमा पाठ्यपुस्तक पाउने गरी काम गर्न निर्देशन दिनुभएको थियो ।

जनक शिक्षालाई चालु शैक्षिक सत्रका लागि कक्षा ६ देखि १२ सम्मको मात्रै पुस्तक छाप्ने अनुमति दिएको थियो । तर समयमै पुस्तक छापेर शैक्षिक सत्र सुरु हुनेबित्तिकै विद्यार्थीको हात हातमा पु¥याउन सफल भएपछि आगामी वर्षका लागि कक्षा ५ देखिकै पाठ्यपुस्तक छपाइको जिम्मेवारी दिएको हो । जनक शिक्षाका प्रबन्ध सञ्चालक झाले आगामी शैक्षिक सत्रमा कुनै पनि विषयको पाठ्यपुस्तक अभाव हुन नदिने र यस वर्ष जस्तै सेटमै पाठ्यपुस्तक उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । पाठ्यपुस्तक छपाइको काम दुई सिफ्टमा सातै दिन चौबिसै घण्टा जारी राखिएको छ । जनक शिक्षाले पुस्तक वितरणमा पहिलो प्राथमिकता हिमाली क्षेत्र, दोस्रोमा पहाडी क्षेत्र र तेस्रोमा तराईमा तथा उपत्यकालाई दिएको छ ।

केन्द्रीय कार्यालयबाहेक उपत्यकाबाहिरका नौ वटा बिक्री केन्द्रबाट पुस्तक वितरण गरिने जनक शिक्षाले जनाएको छ । उहाँले भन्नुभयो, “हामीले अहिले दैनिक एक लाख थान पुस्तक छपाइ गरिरहेका छौँ । छपाइ सकिएका पुस्तक सातै वटा प्रदेशका केन्द्रका प्रादेशिक कार्यालयको गोदाममा पु¥याउने काम पनि सँगसँगै भइरहेको छ । गत वर्ष जस्तै यस वर्ष पनि चैतमै पुस्तक वितरणको काम सुरु गर्छौं ।”

सरकारले कक्षा १ देखि ४ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मेवारी नौ वटा निजी मुद्रण संस्थालाई दिएको छ । उनीहरूले पनि पुस्तक छपाइ कार्यलाई तीव्रता दिइरहेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।

केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालका अनुसार कक्षा १ देखि ४ सम्मका विद्यार्थीका लागि ८४ लाख थान पाठ्यपुस्तक आवश्यक पर्छ । तीमध्ये पाँच लाख थान पुस्तक यसअघि जनक शिक्षाले नै छापिसकेको छ । केन्द्रले कक्षा ५ को पाठ्यपुस्तकको पनि जिम्मेवारी जनक शिक्षालाई यस वर्ष दिएकाले प्रिन्ट रेडी कपी ९पिआरसी० भर्खरै जनक शिक्षालाई उपलब्ध गराएको छ । यसले गर्दा सो कक्षाको सम्पूर्ण पाठ्यपुस्तक छपाइ सक्न केही ढिला हुने बताइएको छ ।

उहाँले भन्नुभयो, “फागुन अन्तिम सातासम्म तथ्याङ्क माग्दा ६० लाख थान पाठ्यपुस्तक छापिसकिएको थियो । बाँकी पुस्तक केही दिनमा छापिसकिन्छ । आगामी शैक्षिक सत्र सुरु हुने समयमा पाठ्यपुस्तकमा समस्या पर्दैन ।” आजको गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्