फुलहमसँग टोटेनहमको हार



काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा टोटेनहम हटस्परले हार बेहोरेको छ । टोटेनहम घरेलु टोली फुलहमसँग ३–० ले पराजित भएको हो । घरेलु टोली फुलहमको जितमा रोड्रिगो मुनिजले दुई तथा सासा लुकिकले एक गोल गरे ।

क्राभेन कटेज लन्डनमा शनिवार राति भएको खेलको ४२औँ मिनेटमा रोड्रिगो मुनिजले गोल गर्दै फुलहमलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । उनले एन्टोनी रोविन्सनको पासमा गोल गर्न सफल भएका थिए ।

४९औँ मिनेटमा सासाले गोल गर्दै फुलहमको अग्रता दोब्बर पारे । उनले टिमोथी कास्टाग्नेको पासलाई सदुपयोग गरे । त्यसपछि ६१औँ मिनेटमा रोड्रिगोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै फुलहमको सानदार जित पक्का गरे ।

घरेलु टोलीविरुद्ध टोटेनहमले बल पोसेसन राख्दै दवाव बढाए पनि फुलहमको बलियो रक्षापङ्ति तोड्न नसक्दा पराजित हुन पुग्यो । यता, फुलहमले पाएको अवसरमा कमजोर रक्षापङ्तिको फाइदा उठाउँदै गोल गर्न सफल भयो ।

यस जितले फुलहम २९ खेलबाट ३८ अङ्क जोडेर १२औँ स्थानमा यथावत् छ । पराजित टोटेनहम ५३ अङ्क जोडेर पाँचौँ स्थानमा रहँदा चौथो स्थानमा उक्लने मौका गुमाएको छ ।

प्रिमियर लिगकै अर्को खेलमा बर्नलेले ब्रेन्टफर्डलाई २–१ ले पराजित गर्दा लुटोन र नटिङहम फरेस्टले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्