ज्यान त गयो सँगै ऋण तिर्ने पीडा थपियो



ऋण तिर्ने पीडा थपियो

प्युठान । “बुढी ! अब म युद्ध क्षेत्रमा जाँदै छु । हामी पाँच जनालाई लगिँदै छ । फोन सम्पर्क नहुन पनि सक्छ । लोग्ने युद्धमा छ भनेर नरुनू । पिर चिन्ता नलिनू । छोराछोरीको राम्रोसँग ख्याल गर्नू । मेरो भर छैन ।”

लालबहादुर घर्तीले रुसबाट श्रीमती भुमालाई अन्तिम पटक भनेको संवाद हो यो । गत माघ २ गते फोनवार्तामा लालबहादुरले ‘एक हप्तामा आउन सके आइहाल्छु, नत्र मेरो लोग्ने जीवित छैन भनेर सम्झनू’ भनेका वाक्य भुमाका कानमा अझैसम्म गुन्जिइरहेको छ ।

प्युठानको स्वर्गद्वारी नगरपालिका–७, तापाका ३९ वर्षीय लालबहादुर साउदी अरबमा गाडीचालक हुनुहुन्थ्यो । स्वदेश फर्किएर कुखुरा, बाख्रा र माछापालन व्यवसाय गर्नुभएका लालबहादुर कुबेत जान भनेर काठमाडौँ पुग्नुभयो । उहाँको भेट एजेन्टसँग भयो । एजेन्टले मासिक पाँच लाख रुपियाँ पाइने आकर्षण देखाएपछि उहाँ लोभिनुभयो र रुस पुग्नुभयो । लालबहादुरकी पत्नी भुमाले भन्नुभयो, “युद्ध क्षेत्रमा जाँदै छु भन्नुभएको थियो । आखिर उहाँको त्यही बोली नै अन्तिम भयो ।”

पति गुमाउँदाको अकल्पनीय पीडासँगै उहाँलाई ऋण तिर्ने पीडा पनि थपिएको छ । लालबहादुरले रुसी सेनामा भर्ती हुन लागेको भन्दै पत्नीलाई आफन्तसँग ऋण खोजेर पठाइदिन भन्नुभएको थियो । भुमाले नौ लाख रुपियाँ सरसापट गरी पठाइदिनुभयो । “अब ऋण कसरी तिर्ने होला रु” उहाँले आँसु झार्दै भन्नुभयो ।

लालबहादुर १२ र १७ वर्षकी छोरी तथा १० वर्षका छोरा, पत्नी र आमाबाबुलाई छाडेर गत कात्तिक ३ गते दुबई हुँदै रुस पुग्नुभएको थियो । चैत २ गते नै भुमाले पतिवियोगको समाचार सुन्नु प¥यो । युद्ध भूमिबाट स्याङ्जाका साथीले फोन गरेर दुःखद समाचार भुमासम्म पु¥याइदिएका थिए ।

प्युठान नगरपालिका–४, काठेवरका २९ वर्षीय सोमेश सुनारको परिवार पनि यस्तै पीडामा छ । रुसी सेनामा भर्ती भएर युद्धमा होमिएको डेढ महिनामै उहाँले जीवन गुमाउनु प¥यो । धन कमाउन डेढ वर्षअघि कतार पुग्नुभएका सोमेश त्यतैबाट रुसी सेनामा भर्ती हुनुभयो ।

आर्थिक रूपमा खासै प्रगति गर्न नसकेका सोमेशकी आमा पक्षाघातबाट पीडित हुनुहुन्छ । रुसबाट राम्रो आम्दानी भएमा खुसी हुने सपना बोकेका पत्नी र एक छोराका पिता सोमेश अस्ताउँदा परिवारलाई वज्रपात परेको छ ।

रुसी माटोमा विलीन लालबहादुर र सोमेशको मृत्युबारे सरकारले आधिकारिक पुष्टि गरिसकेको छैन तर परिवारले भने रुसबाट प्राप्त खबरका आधारमा अन्तिम संस्कार गरिसकेका छन् । प्युठानका सङ्घीय सांसद सूर्य थापाले रुस–युक्रेन युद्धका मृतकको शव ल्याउने, युद्ध मैदानमा अलपत्रको उद्धार गर्ने र क्षतिपूर्तिका विषयमा परराष्ट्र मन्त्रालयसँग समन्वय भइरहेको जानकारी दिनुभयो ।

स्वर्गद्वारी–९, जुडापाटाका २३ वर्षीय दीपक पाँच महिनादेखि युक्रेनी सेनामा कार्यरत हुनुहुन्छ । १० लाख रुपियाँ खर्च गरी भारतको नयाँदिल्ली हुँदै दुबईबाट उहाँ गत मङ्सिरमा युक्रेन पुग्नुभयो ।

सात दिदीबहिनी रहेका दीपक एक्ला छोरा हुनुहुन्छ । दीपकका बाबु देवीराम बुढाथोकीले छोराले फोन गरेर आफू सुरक्षित रहेको खबर गरेको सुनाउँदै भन्नुभयो, “छोरालाई कसरी हुन्छ घर ल्याइदिनु प¥यो । जे जति दुःख पर्ला देशमै गरौँला । हामीलाई पैसा होइन, छोरा चाहिएको छ ।”

रुसी सेनाबाट भागेर नेपाल फर्कनुभएका जुडापाटाका युवराज नेपाली पछिल्लो सात महिनाको यात्रा सम्झिन पनि चाहनुहुन्न । रुस पुगेको तेस्रो दिनमै सेनामा भर्ती हुनुभयो ।

बेस क्याम्पमा एक साताको सामान्य तालिमपछि ११ औँ दिनमा युद्धस्थलमा खटिनुभयो । युद्धमा होमिएकै दिन युवराजसहितका धेरैलाई युक्रेनी सेनाले हानेको गोली लाग्यो । धेरै साथी सधैँका लागि ढले । युवराज शरीरभरि गोलीका छर्रा लागेर घाइते हुनुभयो । उहाँलाई अस्पताल लगियो ।

घाउ केही निको भएपछि अस्पतालबाट आफूलाई बेस क्याम्प लिएर हिँडेको ट्याक्सीलाई थप रकम दिएर मस्कोस्थित नेपाली दूतावास पुग्न सफल हुनुभएका उहाँ त्यहीँबाट स्वदेश फर्किन सफल हुनुभयो । “नेपालबाट धेरै युवा रुसी सेनामा पुगेका छन् । उनीहरूको अवस्था दयनीय छ,” उहाँले भन्नुभयो । आजको गोरखापत्रबाट साभार गरिएको

प्रतिक्रिया दिनुहोस्