नेपालको बहराइनविरुद्ध ५-० गोल अन्तरको फराकिलो हार



काठमाडौँ । फिफा विश्वकप छनोट अन्तर्गत बहराइनमा भएको खेलमा नेपालले घरेलु टोली विरुद्ध फराकिलो हार बेहोरेको छ । बहराइन राष्ट्रिय रङ्गशालामा भएको खेलमा घरेलु टोली ५-० ले विजयी भएको हो ।

नेपालमा लागि सुरुवात नै राम्रो रहेन । खेलको दोस्रो मिनेटमा नै बहराइनले खेलमा अग्रता लिएको थियो । आफ्नै हाफबाट खेलेको पासमा मोहम्मद मरहुनको हेडर पासमा गोल गर्दै माहदी अल हुमाइदानले घरेलु टोलीलाई अग्रता दिलाए । उनले बनाएको रनलाई नेपाली डिफेन्डर तथा गोल लाइन भन्दा अगाडि आएका किरण चेम्जोङले रोक्न सकेनन् ।

आठौ मिनेटमा माहदी अब्दुलजब्बरको प्रहार किरणले विफल बनाए । तर त्यसपछिको कर्नर किकमा बहराइनले अग्रता दोब्बर बनायो । कर्नरमा फारपोस्टमा रहेका डिफेन्डर सायद बाकेरले गोल गर्दै अग्रता दुई गोलको बनाएका थिए ।

२१औँ मिनेटमा अल हुमाईदानको भली प्रहार किरणले सहजै बचाए । २४औँ मिनेटमा उनकै क्रसमा अब्दुलजब्बरले बक्स भित्रबाट पोस्टभन्दा माथि प्रहार गरे ।

३०औँ मिनेटमा छिरिङ लामाले मैदानको मध्य भागमा बल नियन्त्रणमा लिन नसकेपछि बनेको अवसरमा अलि मादनलाई किरणले रोके । हाफको अन्त्यतिर बहराइनले तेस्रो गोल गर्यो । मरहुनको फ्रिकिक पोस्टमा लागेर फर्किएपछि मादनको हेडरमा किरणले उत्कृष्ट बचाउ गरे । तर खतरा नटरेको अवस्थामा अब्दुलजब्बरले गोल गर्दै अग्रता तीन गोलको बनाए ।

दोस्रो हाफमा बहराइनले खेलमा दुई गोल थप्यो । ८७औँ मिनेटमा इब्राहीम अल खतालले हेडर मार्फत चौथो गोल गरे । यस्तै इन्ज्युरी समयमा इस्माइल हसनले पेनाल्टी मार्फत गोल गरे । लाकेन लिम्बूले बक्स भित्र अल खताललाई लडाएपछि जोर्डनले पेनाल्टी पाएको थियो ।

खेलमा डिफेन्डरद्वय अभिषेक लिम्बू र सौभाग्य राई (सन्जित) ले नेपालका लागि डेब्यु गरे । अभिषेकले सुरुवाती रोजाइमा रहेर तथा सौभाग्यले दोस्रो हाफको सुरुवातमा मैदान प्रवेश गरेर राष्ट्रिय टोलीका लागि डेब्यु गरेका हुन् ।

समूह ‘एच’ मा ३ खेल खेलेको नेपाल अंकविहीन छ । बहराइन ३ खेलमा ६ अंक सहित दोस्रो स्थानमा छ । समूहमा नेपाल र बहराइनसहित यमन र संयुक्त अरब इमिरेट्स (युएई) छन् । युएई ३ खेलमा ३ जित सहित शीर्ष स्थानमा छ । तीन खेलमा १ जित सहित यमन तेस्रो छ । नेपालले अब अर्को खेलमा बहराइन विरुद्ध नै मार्च २७ का दिन खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्