आज पहाडी क्षेत्रमा होली मनाइँदै



काठमाडौँ । आज फागु पूर्णिमा अर्थात्  रङ्हरूको पर्व होली, पहाडी जिल्लाहरूमा मनाइँदै छ । पहाडी जिल्लाहरूमा आजै होली पर्व मनाइने भए पनि तराईका जिल्लाहरूमा भने भोलि मनाइन्छ । यो पर्वको अवसरमा सरकारले क्षेत्र अनुसार फरक फरक दिन बिदा दिएको छ ।

फागुन शुक्ल अष्टमीका दिन काठमाडौँको चीर ठड्याइपछि देशभर यो पर्व सुरु भएको मानिन्छ । यस पटक बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ ४ चैतमा चीर ठड्याइएको थियो ।

स्थानअनुसार मनाइने होलीको नाम पनि फरक-फरक छ । हिमाली र पहाडी भेकमा खासगरी ‘फागु पूर्णिमा’ र तराई९मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भन्ने गरिन्छ ।

सबैलाई एउटै रङ्गमा रङ्गाउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको छ । हिन्दु, मुस्लिम, सिख, इसाई, मङ्गोल, किराँत, राई आदिमा एकताको सन्देश दिँदै यस पर्वले सबैको मनमा उमङ्ग एवं उत्साहको सञ्चार गर्दै आएको छ । असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीकको रूपमा होली पर्व मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्