फागु पर्व (होली) लाई दुर्घटना रहित बनाउन उपत्यका ट्राफिकको कडाइ 



काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले रङ्गहरूको पर्व फागु पर्व (होली) लाई सुरक्षित, मर्यादित र उल्लासमय बनाउनको लागि उपत्यकाका तीनै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी खटाउने भएको छ ।

विगतका पर्वहरूमा भन्दा अझ बढी सुरक्षित र व्यवस्थित बनाउनका साथै सडक अनुशासन पालना गराउनको लागि ट्राफिक प्रहरीहरू खटिने भएका हुन् । कार्यालयले होली पर्व मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै यस वर्ष उपत्यका प्रवेश गर्ने नाकाहरू र अन्य ९० स्थानमा बिहान ७ बजे देखी नै चेकजाँचको व्यवस्था मिलाएको छ ।

त्यस्तै ३० ओटा मोबाइल भ्यान परिचालन गरी आवश्यकता बमोजिम मोबाइल गस्ती तथा चेक प्वाइन्ट समेत राखिने तथा दुर्घटना रहित होली पर्व मनाउन र उछ्रिङ्खल गतिविधिलाई समेत नियन्त्रण गर्नका लागि तयार भएको सुरक्षा योजना बमोजिम मुख्य सडक, चोक गल्लीमा समेत प्रहरीको बाक्लो परिचालन गर्ने योजना रहेको छ, यसका लागी ९ सय भन्दा बढी ट्राफिक प्रहरी खटिने ट्राफिक काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले बताउनु भयो ।

अनावश्यक हर्न बजाउने, होहल्ला गरी सवारी चलाउने, मोडिफाई गरी ठुलो आवाज निकाल्ने, तीन जना चढ्ने, हेल्मेट नलगाउने, तिब्रगति र जिकज्याक गरी मोटरसाइकल कुदाउने उपर विशेष निगरानी गरिनेछ भने अन्य ट्राफिक नियम उल्लंघन गर्नेलाई समेत कडाइका साथ कारबाही गरिने छ ।

विशेष गरी मादक पदार्थ र लागु पदार्थ सेवन गरी सवारी चलाउने चालकहरूलाई कडाइका साथ चेकजाँचको व्यवस्था मिलाएको र अनुमति विपरीत रङ्ग दल्ने, लोला हान्ने, अनावश्यक हो९हल्ला गर्ने, झैँ-झगडा गर्ने लगायतका उच्छृङ्खल गतिविधि गर्नेहरूलाई समेत कारबाहीको दायरामा ल्याउन संयुक्त चेक प्वाइन्ट राखिने समेत प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

प्रवक्ता श्रेष्ठले रङ्गहरूको पर्वमा सबै जना फेस्टिभ मुडमा हुने, होहल्ला गरी सवारी चलाउने, नसालु पदार्थको (मापसे र लापसे) सेवन गरी सवारी चलाउँदा दुर्घटनाको  जोखिम उच्च रहने कुरालाई मध्यनजर गरेर ट्राफिक चेकिङलाई कडा बनाइएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्