सफाइ पाएपछि आदिललाई नेपालबाट खेल्ने बाटो खुल्यो



आदिल अन्सारी

काठमाडौँ । युवा हिटर आदिल अन्सारी नेपाली क्रिकेट टोलीमा फर्किने बाटो खुलेको छ । गत वर्ष पुसमा नेपाल टी-२० लिगमा स्पट फिक्सिङ गरेको आरोप लागेपछि उनी नेपाल र घरेलु क्रिकेट दुबैबाट बाहिर थिए ।

उक्त आरोपपछि पक्राउ परेका पूर्वक्रिकेटर महबुब आलम र अन्सारीलाई अदालतको आदेशमा ३ लाख धरौटी बुझाएर रिहा भएका थिए । उक्त मुद्दामा अन्तिम फैसला नहुँदा आदिलले घरेलु र अन्तर्राष्ट्रिय दुवै खेल खेल्न पाएका थिएनन् ।

सोमबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले आरोपमा दाबी नपुग्ने भन्दै आदिल र महबुबसँगै स्पट फिक्सिङको आरोप लागेका पाँच जनालाई नै सफाइ दिएको छ । योसँगै नेपाली क्रिकेट टोलीमा फर्किने बाटो खुलेको हो ।

आदिल नेपाली क्रिकेटमा ठूलो सम्भावना बोकेका युवा अलराउन्डर हुन् । उनले नेपालबाट ६ ओडीआई र ८ टी-२० आई खेल खेलेका छन् । आदिलले २०२२ मा अमेरिकाविरुद्ध ओडीआईमा डेब्यू गरेका थिए । टी-२० आईमा पपुवा न्युगिनीविरुद्ध त्यसै वर्ष त्रिवि क्रिकेट मैदानमा डेब्यू गरेका थिए । आदिल पछिल्लो समय भारतमा गएर घरेलु क्रिकेट खेल्ने गरेका थिए ।सफाइ पाएपछि अन्सारीले आफूले नयाँ जन्म पाएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्