दुबेको अर्धशतकमा गुजरात टाइटन्स माथी चेन्नईको जित



काठमाडौँ। शिवम दुबेको अर्धशतकमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्स माथी जित निकालेको छ ।  मङ्गलवार राति सम्पन्न खेलमा चेन्नईले गुजरातलाई ६३ रनले पराजित गरेको हो। चेन्नईको यो लगातार दोस्रो जित हो। पहिलो खेलमा चेन्नईले रोयल च्यालेन्जर्स बैंगलुरूलाई ६ विकेटले  हराएको थियो ।

चेन्नईले दिएको २०७ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १४३ रनमात्रै बनाउन सक्यो। गुजरातमा साई सुदर्शनले सर्वाधिक ३७ रन जोडे। ३१ बल खेलेका उनले ३ चौका प्रहार गरे।

डेविड मिलर २१, ऋद्धिमान साह २१, विजय शंकर १२ र अजमतउल्लाह ओमरजाई ११ रनमा आउट हुँदा उमेश यादव १० र स्पेन्सर जोन्सन ५ रनमा अविजित रहे।

चेन्नईका दिपक चाहर, मुस्तफिजुर रहमान र तुषार देश पाण्डेले २/२ विकेट लिए। डेरिल मिचेल र माथिशा पथिरानाको नाममा १/१ विकेट रह्यो।

त्यसअघि एम ए चिन्दबरम स्‍टेडियम टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०६ रन बनाएको थियो।

चेन्नईका शिवम दुबेले सर्वाधिक ५१ रन बनाए। २३ बल खेलेका उनले २ चौका र ५ छक्का प्रहार गरे। यस्तै, कप्तान ऋतुराज गायकवाड र रचिन रविन्द्रले ४६/४६ रन बनाए।

अजिक्य रहाणे १२, समीर रजवी १४ र डेरिल मिचेल २४ रनमा आउट हुँदा रविन्द्र जडेजा ७ रनमा अविजित रहे। गुजरातका राशिद खानले २ विकेट लिए। साई किशोर र स्पेन्सर जोन्सनले १/१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्