छ महिनादेखि कर्मचारीले पाएनन् तलब 



तलब 

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका सिमानाकामा सञ्चालनमा रहेका ‘हेल्थ डेस्क’का कर्मचारीले छ महिनादेखि तलब पाउन सकेका छैनन् । कोरोना भाइरसको महामारीका बेलादेखि कार्यरत आफूहरूलाई स्वास्थ्य निर्देशनालयले नियमितरुपमा काममा लगाए पनि अहिलेसम्म तलब नदिएको कर्मचारीको गुनासो रहेको छ । तलब नपाउने यी कर्मचारी करार सेवामा कार्यरत रहेका छन् ।

कैलालीको त्रिनगर सीमानाकास्थित हेल्थ डेस्कका अहेब गणेश साउदले सुदूरपश्चिम प्रदेशका त्रिनगर, गड्डाचौकी, पुलघाट, झुलाघाट, खक्रौलालगायतका सिमानाकाका हेल्थ डेस्कका कर्मचारीले छ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् ।

आस गर्दागर्दै अहिलेसम्म पनि तलब नपाइएपछि ऋण निकालेर परिवार पालिरहेका उनीहरूको गुनासो रहेको छ । पारिश्रमिक नपाउनेमा त्रिनगर हेल्थ डेस्कका १० कर्मचारीसहित प्रदेशका सबै सिमानाकामा गरी जम्मा २७ कर्मचारी रहेका छन् ।

कोरोना भाइरसको  महामारीको बेला स्वास्थ्यका कर्मचारीलाई दिइएको जोखिम भत्तासमेत यी कर्मचारीले पाएका थिएनन् । त्यति बेला पनि शुद्ध तलबबाहेक अन्य कुनै सुविधा नपाएको कर्मचारीको गुनासो छ । विगतमा देखिएको कोरोनाको महामारीका समयदेखि प्रदेश सरकारले सिमानाकामा हेल्थ डेस्क सञ्चालनमा ल्याएको थियो ।

स्वास्थ्य निर्देशनालय दीपायलका निर्देशक डा जगदीश जोशीले बजेटका लागि अर्थ मन्त्रालयसँग स्वास्थ्य सेवा विभागले समन्वय गरिरहेको र विभागले हेल्थ डेस्कका कर्मचारीलाई तलबका लागि बजेट पठाउने आश्वासन दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्