आयरल्यान्डसँग खेल्दै नेपाल ‘ए’



काठमाडौँ। नेपाल ‘ए’ टोलीले तीन खेलको टी–२० शृंखलाअन्तर्गत बिहीबार पहिलो खेलमा आयरल्यान्ड उल्भ्ससँग खेल्दै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजेबाट शुरू हुने छ। भ्रमणमा रहेको आयरल्यान्ड उल्भ्सले यसअघि सिनियर टोलीसँग दुई खेलको टी–२० शृङ्खला खेलेको थियो।

कमजोर प्रदर्शन गरेको आयरल्यान्ड उल्भ्स पहिलो खेलमा ६ विकेटले पराजित भएको थियो। यस्तै, दोस्रो खेलमा पनि नेपालले दबदबा कायम राख्दै ७१ रनको जित हासिल गरेर शृङ्खला २–० ले आफ्नो पक्षमा बनाएको थियो। आयरल्यान्ड उल्भ्सविरुद्ध मैदान उत्रिने नेपाल ‘ए’ टोलीको कप्तानी विनोद भण्डारीले गर्ने छ।

टोलीमा उनीसँगै लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, राशिद खान रहेका छन्।यस्तै, सागर ढकाल, विपिन खत्री, कमलसिंह ऐरी, हेमन्त धामी र विकाश आग्री पनि टी२० टोलीमा हुने छन्।

प्रतिक्रिया दिनुहोस्