नक्कली भुटानी शरणार्थी प्रकरण : थुनामा रहेका टोपबहादुर रायमाझी अस्पताल भर्ना



काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वउपप्रधान मन्त्री तथा नेकपा एमालेका निलम्बित सांसद टोपबहादुर रायमाझी अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या भएपछि रायमाझीलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो । केन्द्रीय कारागार सुन्धारामा पुर्पक्षमा थुनामा रहेका रायमाझीलाई बुधबार अस्पताल भर्ना गरिएको जनाइएको छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको टगी प्रकरणमा रायमाझी, कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणसहितका १८ जनालाई पक्राउ गरेर मुद्दा चलाइएको थियो ।

पक्राउ परेका १८ जनामध्ये १६ जनालाई जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पुर्पक्षका लागि थुनामा पठाएको थियो । पक्राउ परेका सई लक्ष्मी महर्जन र टंक गुरुङ भने धरौटीमा रिहा भएका थिए ।

उच्च अदालतले समेत रायमाझीसहितका व्यक्तिको हकमा भने जिल्लाकै आदेश सदर गरेको थियो । उनीहरू अहिले सर्वोच्च समेत पुगेका छन् । भुटानी शरणार्थी प्रकरणमा ३० जनालाई प्रतिवादी बनाइएको थियो । उनीहरुविरुद्ध ठगी, कीर्ते, राज्यविरुद्धको अपराध र सङ्गठित अपराधको कसुरमा गत १० जेठमा जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । २८ करोडको बिगो माग दाबी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्