राष्ट्रिय मुद्दामा मिलेर अघि बढ्न देउवालाई प्रधानमन्त्री प्रचण्डको आग्रह



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ । प्रचण्डले बोलाएपछि काँग्रेस सभापति देउवा आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

भेटवार्तामा सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई अघि बढाउने, संसद्ला‌ई बिजनेस दिने लगायतका राष्ट्रिय मुद्दाहरूमा छलफल भएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

राष्ट्रिय मुद्दाहरूमा सत्तापक्ष र प्रतिपक्ष नराखौँ, मिलेर अघि बढौँ भन्ने प्रधानमन्त्री प्रचण्डको आग्रह गरेका छन्। खास गरी अदालतबाट समेत आदेश आइसकेको सन्दर्भमा टीआरसीलाई अघि बढाउने, विधेयक अधिवेशनमा त्यति धेरै विधेयकहरू अघि नबढेकाले अब बढाऔँ भन्ने लगायतका मुद्दामा प्रधानमन्त्रीले आग्रह गरेका हुन् ।

काँग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले भेटवार्ताको क्रममा संवैधानिक परिषद् बैठकको विषयमा छलफल भएको बताएका छन् । प्रमुख प्रतिपक्ष दल काँग्रेसले सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेको समेत नाम मुछिएको विषयमा संसद्‌मा प्रश्न उठाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्