एसइई परीक्षामा चिट चोराउने शिक्षक र गार्ड पक्राउ



काठमाडौँ । एसइई परीक्षामा चिट चोराएको आरोपमा शिक्षक र गार्ड पक्राउ परेका छन् । चैत १५ गते (बिहीबार) देखि सुरु भएको एसइईको परीक्षामा विद्यार्थीलाई चिट चोराएको भन्दै जिल्ला प्रहरी कार्यालय बाराले दुई जना  शिक्षक र गार्डलाई पक्राउ गरेको हो ।

बाराको देवताल गाउँपालिका-६ का ४३ वर्षीय सुरेन्द्र प्रसाद यादव र आदर्शकोतवाल गाउँपालिका ३ भटिनियाका ४५ वर्षीय बिनोद प्रसाद यादबलाई पक्राउ गरिएको हो।

पक्राउ परेका सुरेन्द्र कलैया उपमहानगरपालिका९२ स्थित अमर माध्यमिक विद्यालय, दोहरीका शिक्षक हुन् भने बिनोद बारागढी गाउँपालिका-१ स्थित जनता माध्यमिक विद्यालयमा गार्डका रूपमा खटिएका थिए । दुवै जनाले एसइई परीक्षामा विद्यार्थीलाई चिट चोराएको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले बताएका छन् ।

डिएसपी न्यौपानेका अनुसार सुरेन्द्रले विद्यार्थीलाई मोबाइलबाट चिट चोराउन सहयोग गरेका थिए । हाल दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्