आयरल्यान्ड ए ले नेपाल ए लाई दियो २२३ रनको लक्ष्य



काठमाडौँ । आयरल्यान्ड ए ले पहिलो टी-२० खेलमा घरेलु टोली नेपाललाई २२३ रनको विशाल लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्ड ए ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२२ रन बनायो ।

आयरल्यान्डका पिटर मुरले ३२ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४९ रन बनाए । ओपनर रस आदिर दोस्रो बलमै फर्स्ट स्लिपमा आरिफ शेखबाट क्याच आउट भएका थिए ।

चोटका कारण दुई वर्षपछि खेलमा फर्किएका कमलसिंह ऐरीको बलमा रस आदिर क्याच हुन पुगेका थिए । त्यसपछि दोस्रो विकेटका लागि पिटर मुर र केड कर्माइकले ८८ रनको साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए ।

केड २९ बलमा ४ चौका र १ छक्कासहित ३८ रनमा सागर ढकालको बलमा एलबीडब्लू आउट भए । स्टेफन डोहेनी १६ बलमा ४ चौका र २ छक्कासहित ३४ रनमा आउट भए ।

निल रक २३ बलमा १ चौका र ३ छक्कासहित ३८ तथा ग्यारेथ डेलानी १४ बलमा २ चौका र ३ छक्कासहित ३० रन बनाए । गेभिन होइले ६ बलमा २ छक्कासहित १८ रन जोडे । नेपालका कमलसिंह ऐरीले ४ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए । आरिफ शेख र सागर ढकालले १/१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्