आजदेखि २०८१ साल सुरु



काठमाडौँ । आजदेखि विक्रम संवत् २०८१ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरूले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।

नयाँ वर्षको अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ । नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्याधीश विश्वम्भर प्रसाद श्रेष्ठ,  सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, राजनीतिक दलका शीर्ष नेता लगायतले शुभकामना सन्देश दिँदै सबै नेपालीको उन्नति प्रगतिको कामना गरेका छन् ।

नयाँ वर्षमा मिस्ठान्न भोजन बाँड्दै, सांस्कृतिक उत्सव आयोजना गर्दै आज नयाँ वर्ष विशेष पर्वको रूपमा मनाउने गरिन्छ । सफलता प्राप्त गर्न आजका दिन नयाँ योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत रहेको छ । आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ ।

आज बिहानै स्नान गर्ने, मन्दिर जाने, घर सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ । नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास छ ।

विक्रम संवत् १३५ देखि शक संवत्, संवत् ६३३ देखि मानदेव संवत्, विक्रम संवत् ९३६ देखि नेपाल संवत् चलेको हो । यी सम्वतमध्ये अहिले मानदेव सम्वतको चलन हराइसकेको छ । १२औँ शताब्दीमा गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलो पटक विक्रम सम्वतको प्रयोग गरेको लिखित दस्तावेज फेला परेको इतिहासविदहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्