भारतद्वारा खोटाङमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण



काठमाडौँ । नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको ३.६१ करोड आर्थिक सहयोगमा नेपालको खोटाङ जिल्लाको रावा बेसी गाउँपालिकास्थित श्री शारदा माध्यमिक विद्यालयको विद्यालय एवम् छात्रावास भवनको  उद्घाटन गरिएको छ ।

भवनको आज जिल्ला समन्वय समितिका प्रमुख सन बहादुर राई, रावा बेसी गाउँपालिकाका अध्यक्ष फटिक कुमार श्रेष्ठ र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव सुमन शेखरले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा जनप्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको पनि उपस्थिति रहेको थियो ।

 ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग दुई तल्ले विद्यालय भवन, छात्रावास भवनको निर्माण र दुवै भवनका लागि आवश्यक फर्निचरको खरिदका लागि उपयोग गरिएको थियो । यो परियोजना जिल्ला समन्वय समिति, खोटाङमार्फत कार्यान्वयन गरिएको हो । भारत सरकार र नेपाल सरकारबिच भएको सम्झौता अन्तर्गत पहिले साना विकास परियोजनाका नामले परिचित यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको हो ।

श्री शारदा माध्यमिक विद्यालय सन् १९५२ मा स्थापना भएको हो ।  कक्षा १ देखि प्लस टु तहसम्म अध्यापन हुने यस विद्यालयमा ३६५ भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् जसमा ५०५ छात्रा रहेका छन् । गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयले उल्लेखनीय सफलता हासिल गरेको छ ।

सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५० वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् र ४८८ वटा परियोजना सम्पन्न भइसकेका छन् । यी मध्ये कोशी प्रदेशका विभिन्न क्षेत्रमा ८५ वटा परियोजना रहेका छन् जसमा एउटा परियोजना खोटाङमा रहेको छ । यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहार स्वरूप प्रदान गरिसकेको छ जसमध्ये कोशी प्रदेशलाई १४१ वटा एम्बुलेन्स र ३५ वटा स्कुल बस उपहार स्वरूप प्रदान गरिएको छ । यसमा ४ वटा एम्बुलेन्स र एउटा स्कुल बस खोटाङ जिल्लालाई उपलब्ध गराइएको छ । नजिकको छिमेकी भएको नाताले भारत र नेपालबिच व्यापक र बहु क्षेत्रीय सहकार्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्