भारत सरकारद्वारा नेपाललाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस उपहार स्वरूप प्रदान



काठमाडौँ । भारत सरकारद्वारा नेपालका विभिन्न जिल्लालाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस उपहार स्वरूप प्रदान गरिएको छ । भारतीय राजदूतावास, काठमाडौँले आज नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ संस्थाहरूलाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस उपहार स्वरूप प्रदान  गरेको हो ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल सरकारका माननीय अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा उक्त एम्बुलेन्स तथा स्कुल बसका चाबी हस्तान्तरण गरेका हुन् । सो समारोहमा मेयर तथा विभिन्न जिल्लाका नगरपालिका एवम् गाउँपालिकाका अध्यक्ष, विभिन्न लाभग्राही संस्थाका प्रतिनिधि, राजनीतिक प्रतिनिधि, नेपाल सरकारका पदाधिकारी तथा समाजसेवीको उपस्थिति रहेको थियो ।

उपहार स्वरूप आज हस्तान्तरण गरिएका कूल १०१ सवारी साधन मध्ये दुई वटा एम्बुलेन्स दूूतावासका प्रतिनिधिले भूकम्प प्रभावित जाजरकोट र रुकुम (पश्चिम) जिल्लामै पुगेर जिल्ला अधिकारी तथा स्थानीय बासिन्दाको उपस्थितिमा हस्तान्तरण गरेका थिए ।

नेपालका स्वास्थ्य तथा शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै भारत सरकारले तीन दशकदेखि भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न भागमा रहेका विभिन्न लाभग्राही संस्थाहरूलाई एम्बुलेन्स तथा स्कुल बस उपहार स्वरूप प्रदान गर्दै आएको छ ।

कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूतले उक्त एम्बुलेन्स तथा स्कुल बसको हस्तान्तरण स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले चालेका प्रयासलाई थप बलियो बनाउन नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत भारत सरकारले लामो समयदेखि लिदै आएको पहलमध्येको एक रहेको बताए । उनले यो कार्यक्रम भारत र नेपालबीचको बलियो विकास साझेदारीकै एक अंशको रूपमा रहेको जानकारी दिए । भौगोलिक रूपमा नेपालभर फैलिएको यस कार्यक्रमले जनजीवनलाई सहज बनाउनुका साथै नेपालको विकास यात्रामा मूर्त प्रगति ल्याउन मद्दत गरेको पनि उनले उल्लेख गरे ।

सोही अवसरमा बोल्दै अर्थमन्त्री वर्षमान पुनले भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित विभिन्न विकास सम्बन्धीका परियोजनाको सराहना गर्दै यसले दुई देशबिचको जनता–जनताबिचको सम्पर्क र द्विपक्षीय सम्बन्धलाई निरन्तर सुदृढ बनाउँदै लैजाने बताए । साथै यस्ता महत्त्वपूर्ण कार्यक्रम नेपाली जनताका लागि निकै फाइदाजनक हुने बताए ।

सन् १९९४ यता भारत सरकारले आजको सहित हालसम्म नेपालभर १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहार स्वरूप उपलब्ध गराइसकेको छ । यो सहयोग स्वास्थ्य तथा शिक्षा सुविधालाई सुदृढ बनाउन नेपालले गरेको प्रयासमा बल पुर्‍याउन र यस्ता सेवामा सहज भौतिक पहुँचलाई सहजीकरण गर्न भारत सरकारले नेपाललाई गर्दै आएको निरन्तर सहयोगको एक हिस्साको रूपमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्