हंगकं साउदी अरबविरुद्ध पराजित 



काठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपमा हंगकं साउदी अरेबिया विरुद्ध स्तब्ध भएको छ । समूह ए अन्तर्गत अल अमेरातमा भएको खेलमा हंगकंलाई साउदीले ५५ रनले हराएको हो ।

साउदीले दिएको २०३ रनको विशाल लक्ष्य पछ्याएको हंगकं१८.५ ओभरमा १४७ रनमा समेटियो । हंगकंका लागि कप्तान निजाकत खानले ५१ बलमा ७ चौका र २ छक्का सहित सर्वाधिक ७३ रन बनाए । अंशुमन रथले १७ बलमा २३ रन जोडे । यस्तै जिशन अलिले १८ रन बनाए । अन्य ब्याटरले दोहोरो अङ्क छुन सकेनन् ।

साउदीका लागि उसमान नजिव र जेन अल अविदिनले ३-३ विकेट लिए । हिशाम शेखले २ तथा ईशतियाक अहमदले १ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरबले ८ विकेट गुमाएर २०२ रन जोड्यो । साउदीका लागि अब्दुल वाहिदले ५१ बलमा सर्वाधिक ७७ रन बनाए । यस्तै मनान अलीले १८ बलमा ४४ रन जोडे । फैसल खानले ३० तथा हिशाम शेखले २२ रन जोडे ।

हंगकंका लागि एहसान खानले ३ तथा एइजाज खानले २ विकेट लिए । यस्तै आयुष शुक्ला र रौनक कपूरले १-१ विकेट लिए । समूह ए मा साउदी, हंगकं र मलेसियाको समान २-२ खेलमा २-२ अङ्क नै रहेको छ । यस समूहमा कतार अङ्कविहीन छ । नेपालको २ खेलमा ४ अङ्क रहेको छ । समूह बी मा ओमान र युएईको समान २-२ खेलमा ४-४ अङ्क छ । कुवेतको २ अङ्क रहँदा बहराइन र कम्बोडिया अङ्कविहीन छन् ।

प्रतिक्रिया दिनुहोस्