लिभरपुलपछि आर्सनल पनि पराजित



काठमाडौँ । लिभरपुलको हारपछि इंग्लिस प्रिमियर लिग शीर्षस्थानमा उक्लने मौकालाई आर्सनलले गुमाएको छ । आर्सनल आइतबार एस्टन भिल्लासँग २–० ले पराजित भएको छ ।

उपाधि होडमा रहेका दुई टोली लिभरपुल र आर्सनल पराजित भएपछि त्यसको फाइदा म्यानचेस्टर सिटीलाई पुगेको छ । खेलको अन्त्यतिर एस्टन भिल्लाले २ गोल गर्दै आर्सनलमाथि सानदार जित निकालेको हो ।

लियोन बेली र वली वाटकिन्सले गोल गर्दै टोलीलाई महत्त्वपूर्ण जित दिलाएका थिए । बेलीले ८३ औँ र वाटकिन्सले ८६ औँ मिनेटमा गोल गरेका थिए । त्यसअघि लिभरपुल क्रिस्टल प्यालेससँग १–० ले पराजित भएको थियो । अर्को खेलमा फुलहमले वेस्टहम युनाइटेड २–० ले हराएको छ ।

शीर्षस्थानको सिटीको ७३ अङ्क छ । दोस्रो स्थानको आर्सनल र तेस्रो स्थानको लिभरपुलको समान ७१ अङ्क छ । चौथो स्थानमा रहेको एस्टन भिल्लाले लिभरपुल र आर्सनलसँगको दुरी कम गराएको छ भने पाँचौँ स्थानको टोटनहमलाई पछि पारेको छ । भिल्लाको ६३ र टोटेनहमको ६० अङ्क छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्