भारतको सहयोगमा दार्चुला निर्माण गरिने विद्यालय भवनको शिलान्यास 



काठमाडौँ । भारतद्वारा नेपालको दार्चुला जिल्लामा  निर्माण गरिने उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास गरिएको छ । शैल्यशिखर नगरपालिकाका मेयर बिजय सिंह धामी र भारतीय राजदूतावास, काठमाडौँका द्वितीय सचिव प्रशान्त कुमार सोनाले नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको नेरु। २.७३ करोड आर्थिक सहयोगमा निर्माण हुने दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकास्थित श्री गलैनाथ माध्यमिक विद्यालयको विद्यालय भवनको शिलान्यास गरेका हुन् । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षकरशिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग यस विद्यालयलाई आवश्यक अन्य सुविधासँगै दुई तल्ले विद्यालय भवन, शौचालय, कार्यालय भवनको निर्माण र फर्निचरमा उपयोग गरिनेछ ।  भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइनेछ र दार्चुलाको शैल्यशिखर नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ । यो परियोजना भारत र नेपालबिचको बलियो विकास साझेदारीको एक महत्त्वपूर्ण दृष्टान्तको रूपमा रहेको छ ।

कार्यक्रममा बोल्दै शैल्यशिखर नगरपालिकाका मेयरले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्याउदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।

दार्चुलाको शैल्यशिखर नगरपालिकास्थित श्री गलैनाथ माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयको नयाँ भवन उपयोगी हुनुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्नेछ । साथै यस क्षेत्रको शिक्षाको विकासमा पनि योगदान पुर्‍याउनेछ ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४८९ वटा परियोजना सम्पन्न गरिसकेको छ । यी मध्ये सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा ४० वटा परियोजना रहेका छन् जसमा १० वटा परियोजना दार्चुलामा छन् । यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहार स्वरूप प्रदान गरिसकेको छ जसमध्ये सुदूरपश्चिम प्रदेशलाई ६० वटा एम्बुलेन्स र २० वटा स्कुल बस उपहार स्वरूप प्रदान गरिएको छ । यसमा ८ वटा एम्बुलेन्स र २ वटा स्कुल बस दार्चुला जिल्लालाई उपलब्ध गराइएको छ । नजिकको छिमेकी भएको नाताले भारत र नेपालबिच व्यापक र बहु क्षेत्रीय सहकार्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्