आज चैत्र शुक्ल पक्षको कामदा एकादशी पर्व



काठमाडौँ । पञ्चाङ्ग अनुसार आज चैत्र शुक्ल पक्षको कामदा एकादशी पर्व मनाइँदैछ । कामदा एकादशीका बारेमा जनविश्वास रहेको छ कि यो व्रत गर्नाले व्यक्तिलाई १०० यज्ञ बराबर शुभ फल प्राप्त हुन्छ, त्यसैले कामदा एकादशीलाई फल्दा एकादशी पनि भनिन्छ । यसका साथै कामदा एकादशीका दिन विधि अनुसार व्रत तथा पूजा आराधना गर्नाले व्रत कथा पढ्दा वा श्रवण गर्नाले साधकले विष्णुको कृपा प्राप्त गर्छ र अन्त्यमा मोक्ष प्राप्ति हुने जनविश्वास रहेको छ ।

प्राचीन कालमा पुण्डरिक नामका राजाले शासन गर्दथे । राजा सधैँ आनन्दमा डुबेका थिए। राजा पुण्डरिकाको राज्यमा ललित नामका पुरुष र ललिता नामकी महिला बस्थे । यी दुईको एकअर्काप्रति गहिरो माया थियो । एक दिन ललित राजाको दरबारमा गीत गाउँदै थिए, जब उनको ध्यान आफ्नी सुन्दरी श्रीमती तिर खिचियो र उनको आवाज बिग्रियो । यो सबै देखेर राजा पुण्डरिक निकै क्रोधित भए र रिसले ललितलाई राक्षस बन्ने श्राप दिए ।

श्रापको प्रभावले ललित राक्षस बने र मासु खान थाले । श्रीमान्को यस्तो हालत देखेर उनकी श्रीमती निकै दुःखी भइन् । श्रीमानलाई श्रापबाट मुक्त गराउन ललिताले धेरैलाई यसबारे सोधिन् । एक पटक ललिता विंध्याचल पर्वतमा रहेको ऋषिश्रृङ्गीको आश्रममा गइन् र त्यहाँ उनले ऋषिलाई आफ्नो पतिको सम्पूर्ण कथा सुनाइन् । श्रृङ्गी ऋषिले ललितालाई कामदा एकादशीको व्रत गर्न आग्रह गरे जसले उनको मनोकामना पूरा गर्दछ। र, पूर्ण भक्तिपूर्वक कामदा एकादशीको व्रत बसेमा ललितालाई आश्वासन दिनुभयो ।

त्यसैले यो व्रतको पुण्यले उनका पति पुन: मानव रूपमा फर्किनेछन्। भगवान् विष्णुको तपस्या गर्दै ललिताले कामदा एकादशीको व्रत सबै अनुष्ठानसहित धारण गरिन् र भोलिपल्ट द्वादशी पारेर व्रत पूरा गरिन् । यस व्रतको प्रभावबाट भगवान् विष्णु प्रसन्न भए र ललिताका पतिलाई मानव रूपमा फर्काएर राक्षस रूपबाट मुक्त गराए । यसरी दु:खमुक्त भएर पति-पत्नी दुवैको जीवन सुखमय भयो र दुवैले श्रीहरिको भजन९कीर्तन गरेर मोक्ष प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस्