भारत सरकारको सहयोगमा निर्माण गरिने विद्यालय भवनको शिलान्यास



काठमाडौँ । भारत सरकारको सहयोगमा दार्चुला जिल्लामा निर्माण गरिएको हिमालय माध्यमिक विद्यालयको विद्यालय भवनको शिलान्यास गरिएको छ ।  व्याँस गाउँपालिकाका अध्यक्ष मंगल सिंह धामी र भारतीय राजदूतावास, काठमाडौँका द्वितीय सचिव प्रशान्त कुमार सोनाले भारत सरकारको नेरु। २.८२ करोड आर्थिक सहयोगमा निर्माण हुने दार्चुलाको व्याँस गाउँपालिका–६ स्थित हिमालय माध्यमिक विद्यालयको विद्यालय भवनको शिलान्यास गरेका हुन् ।

त्यसैगरी ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत नेरु। ३.३७ करोडमा निर्माण गरिएको दुहुँ गाउँपालिकास्थित श्री जनविकास माध्यमिक विद्यालयको विद्यालय भवनको दुहुँ गाउँपालिकाका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडाल र भारतीय राजदूतावास, काठमाडौँका द्वितीय सचिव प्रशान्त कुमार सोनाले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको पनि उपस्थिति रहेको थियो ।

 ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग व्याँस गाउँपालिकास्थित श्री हिमालय माध्यमिक विद्यालयलाई आवश्यक अन्य सुविधासँगै दुई तल्ले विद्यालय भवन, शौचालय, पर्खाल र प्रवेशद्वार निर्माणमा उपयोग गरिनेछ । त्यस्तै भारत सरकारको अनुदान सहयोग दुहुँ गाउँपालिकास्थित श्री जनविकास माध्यमिक विद्यालयलाई आवश्यक अन्य सुविधासँगै विद्यालय भवनको निर्माणमा उपयोग गरिएको थियो । भारत सरकार र नेपाल सरकारबिच भएको सम्झौता अन्तर्गत यी दुवै परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको हो । श्री हिमालय माध्यमिक विद्यालयका लागि परियोजनाको कार्यान्वयन व्याँस गाउँपालिकामार्फत गरिनेछ भने श्री जनविकास माध्यमिक विद्यालयका लागि परियोजनाको कार्यान्वयन दुहुँ गाउँपालिकामार्फत गरिएको हो । यी परियोजना भारत र नेपालबिचको बलियो विकास साझेदारीको एक महत्त्वपूर्ण दृष्टान्तको रूपमा रहेका छन् ।

कार्यक्रममा बोल्दै व्याँस गाउँपालिका र दुहुँ गाउँपालिकाका अध्यक्षले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्याउदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।

दार्चुलास्थित श्री हिमालय माध्यमिक विद्यालय र श्री जनविकास माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयका नयाँ भवन उपयोगी हुनुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्नेछ । साथै यस क्षेत्रको शिक्षाको विकासमा पनि योगदान पुराउनेछ ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४८९ वटा परियोजना सम्पन्न गरिसकेको छ । यी मध्ये सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा ४० वटा परियोजना रहेका छन् जसमा १० वटा परियोजना दार्चुलामा छन् । यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहार स्वरूप प्रदान गरिसकेको छ जसमध्ये सुदूरपश्चिम प्रदेशलाई ६० वटा एम्बुलेन्स र २० वटा स्कुल बस उपहार स्वरूप प्रदान गरिएको छ । यसमा ८ वटा एम्बुलेन्स र २ वटा स्कुल बस दार्चुला जिल्लालाई उपलब्ध गराइएको छ । नजिकको छिमेकी भएको नाताले भारत र नेपालबिच व्यापक र बहु क्षेत्रीय सहकार्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्