दिल्लीमाथि हैदरावादको सानदार जित



काठमाडौँ । विष्फोटक ब्याटिङ प्रदर्शन सहित सनराईजर्स हैदरावादले इंडियन प्रिमियर लिग (आइपिएल)मा शनिबार दिल्ली क्यापिटल्स माथि फराकिलो जित दर्ता गरेको छ । हैदरावादले दिल्लीमाथि उसैको मैदानमा ६७ रनको सानदार जित निकालेको हो।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले उत्कृष्ट ब्याटिङ सहित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६६ रनको विशाल योगफल खडा गरेको थियो । आइपिएल इतिहासको चौथो ठूलो योगफल खडा गर्ने क्रममा पावरप्लेको ६ ओभरमा १ सय २५ रन बनाएको थियो । ओपनर ट्राभिस हेड र अभिषेक शर्माको विष्फोटक सुरुवातले हैदरावादलाई बलियो स्थितिमा पुर्‍याएको थियो ।

हेडले ३२ बल खेल्दै ११ चौका र ६ छक्का सहित सर्वाधिक ८९ रन बनाएका थिए भने अभिषेकले १२ बलमा २ चौका र ६ छक्काको मद्दतमा ४६ रन बनाए । यस्तै शाहवाज अहमदले २९ बलमा २ चौका र ५ छक्का सहित नटआउट रहँदै ५९ रन जोडे । नितिश रेड्डीले २७ बलमा ३७ रनको योगदान गरे । दिल्लीका लागि कुलदीप यादवले ४ ओभरमा ५५ रन खर्चेर ४ विकेट लिएका थिए । यस्तै मुकेश कुमार र अक्षर पटेलले समान १ विकेट लिएका थिए ।

जवाफमा दिल्लीले १९.१ ओभरमा अलआउट हुदै १ सय ९९ रन जोड्यो । दिल्लीका लागि जेल फ्रेजर-मक्गर्कले १८ बलमा ५ चौका र ७ छक्का प्रहार गरेपनि टोलीलाई पार लगाउन सकेनन् । कप्तान ऋषभ पन्तले ३५ बलमा ४४ रन बनाए । अभिषेक पोरेलले २२ बलमा ४२ रन जोडे । पृथ्वी शाले १६ र ट्रिस्टन स्टब्सले १० रन बनाए ।

हैदरावादको जितमा नटराजनले ४ ओभरमा १ मेडन सहित १९ रन खर्चेर ४ विकेट लिए । यस्तै मयंक मार्कण्डे र नितिश रेड्डीले २९२ विकेट लिँदा वाशिंगटन सुन्दर र भुवनेश्वर कुमारले १-१ विकेट लिए ।

जित पछि हैदरावाद ७ खेलमा ५ जित सहित १० अङ्क बटुल्दै दोस्रो स्थानमा छ । दिल्ली ८ खेलमा ३ जित सहित ६ अङ्क बटुल्दै सातौँ स्थानमा छ । शीर्षस्थानको राजस्थान रोयल्सको १२ अङ्क छ ।

आईपिएलमा आइतबार २ खेल हुँदै छन् । दिनको ३:४५ बजे हुने खेलमा कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलूरु तथा बेलुका ७:४५ बजे पञ्जाब किंग्स र गुजरात टाईटन्स भिड्ने छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्