भर्नामा छुटे राउटे बालबालिका



दैलेख । सरकारले प्रत्येक समुदायमा पुगेर समयमै भर्ना समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान भन्ने नारासाथ विद्यार्थी अभियान २०८१ सञ्चालन गरिरहेको छ तर राउटे बालबालिकासम्म विद्यार्थी भर्ना अभियान पुग्न सकेको छैन ।

लेखपढ नगर्ने, एकै ठाउँमा नबस्ने र खेतीपाती नगर्ने मान्यताले राउटे समुदाय पछिल्लो समय सामाजिक संस्कारसँग जोडिँदै आएका भने छन् । उनीहरूलाई विद्यार्थी भर्ना अभियानमा जोड्न नसक्दा राउटे समुदायका बालबालिका शिक्षाको अवसरबाट टाढिएका छन् ।

राउटे परियोजना सञ्चालन गरिरहेको एक गैरसरकारी संस्थाका जोडी शिक्षक लालबहादुर खत्रीले राउटे बालबालिकामा पढ्ने इच्छा भएको भए पनि अभिभावकले नै पढ्न नदिने गरेको बताउनुभयो । उहाँले बालबालिकालाई छ वर्षदेखि नाम लेख्न र अक्षर सिकाउन लागिएको भए पनि त्यो काम पनि समुदाय बसेको ठाउँभन्दा अलि टाढैबाट गरिरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “राउटे बालबालिका पढ्न चाहन्छन्, त्यही अनुसार हामीले अक्षर चिनाउन सिकाएका पनि छौँ । उनीहरू सहज रूपमा विभिन्न चित्र बनाउन र आफ्नो नाम लेख्न सक्छन् । सामाजिक सुरक्षा भत्ता वितरणको भरपाईमा समेत हस्ताक्षर गर्छन् ।” उहाँका अनुसार पश्चिम नेपालका जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायमा पाँच वर्षदेखि १८ वर्ष उमेर समूहका ५५ जना बालबालिका छन् ।

१२ वर्षीय नरबहादुर शाहीले आफूहरूलाई पढ्न मन लागेको भए पनि आफ्ना मुखियाले पढ्न नदिने गरेको बताउनुभयो । उहाँले फिरन्ते जीवन बिताउँदै आएका राउटेले आफ्नो संस्कार भुल्न हुँदैन भन्ने मान्यताका कारण आफूहरूले पढ्न नपाएको जनाउनुभयो । उहाँले भन्नुभयो, “हामीले अक्षर चिनेका छौँ र हामी विद्यालय जान चाहन्छौँ तर हाम्रा मुखिया मान्दैनन् ।”

राउटे मुखिया सूर्यनारायण शाहीले राउटे समुदायले पढ्न नहुने कुरामा अडिग रहेको बताउनुभयो । उहाँले अहिले नै पढ्न, लेख्न लागेको खण्डमा जङ्गलका राजाको अस्तित्व सङ्कटमा पर्ने हुँदा बालबालिकालाई पढ्न नदिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा बालबालिकाले अक्षर चिनेका छन्, अहिले त्यति भए पुग्छ, बिस्तारै परिवर्तन हुँदै पढ्ने कुरा पनि हुन्छ ।” चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, पाल्तडामा रहेको कर्णाली जनचेतना आधारभूत विद्यालयका प्रधानाध्यापक हिमप्रसाद चौलागाईंले राउटे समुदायमा विद्यार्थी भर्ना अभियान लगेर गएको भए पनि आफूहरूलाई बस्तीमा पस्न नदिएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “आफ्नो विद्यालयकै छेउमा बस्ती भएका कारण बस्तीमा विद्यार्थी भर्ना अभियान लिएर गएका थियौँ, राउटे मुखियाले प्रहरीलाई भनेर हामीलाई बस्तीमा छिर्न दिएनन् । पुनः एक पटक घरदैलो अभियान लिएर बस्तीमा जाँदै छौँ ।” जङ्गलका राजा हौँ, हामीलाई यतिकै छोड्दिनुहोस् भन्ने राउटे समुदायको भनाइले समुदायका बालबालिकालाई भर्ना गर्न कठिनाइ हुने राउटेसँग काम गर्ने व्यक्तिहरूले

बताएका छन् ।  कर्णाली प्रदेश सरकार सामाजिक विकास कार्यालय दैलेख महेशकेशर खनालले सीमान्तकृत तथा लोपोन्मुख समुदाय, राउटे, माझी, कुमाल, बादी गन्धर्व समुदायका लागि शिक्षा प्रवर्धन कार्यक्रम रहेको र त्यसैका आधारमा राउटेहरूको माग अनुसार कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । उहाँले राउटेहरूलाई विगतमा स्वास्थ्य सामग्री वितरण गरिएको र यस पटक काठका सामग्री निर्माण गर्ने वा अन्य बन्दोबस्तीका सामग्री वितरण गर्ने सल्लाह गरिरहेको बताउनुभयो ।

जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका दैलेखका निमित्त प्रमुख रतन विष्टले राउटेको शिक्षाका लागि सरकारले नै विशेष खालको शिक्षा नीति ल्याउनुपर्ने बताउनुभयो । उहाँले सरकारले थालेको विद्यार्थी अभियानले राउटे समुदायका नागरिकलाई भर्ना अभियानमा समेट्न कठिन भएको बताउँदै राउटे समुदायका बालबालिकाको शिक्षाका लागि सरकारले शिक्षक नियुक्त गरी बस्तीमा पढाउने र पछि विद्यालयमा भर्ना गर्ने अभियान चलाउनुपर्ने बताउनुभयो । आजको गोरखापत्राबाट

प्रतिक्रिया दिनुहोस्