इलाममा भारतले आज र नेपालले भोलिदेखि सीमा सिल गर्ने



काठमाडौँ । भारतको दार्जिलिङसँग जोडिएको इलामको सीमा नाका बन्द गरिएको छ । मङ्गलवार साँझ ६ः १५ बजेदेखि शुक्रवार राति १२ बजेसम्मका लागि भारतीय पक्षले नाका बन्द गरेको हो ।

पश्चिम बङ्गाल राज्यस्थित दार्जिलिङ जिल्लामा वैशाख १४ गते हुने लोकसभा चुनावलाई लक्षित गर्दै सीमा नाका सिल गरिएको हो । इलामको सन्दकपुर, कालपोखरी, टंलु, तुम्लिङ, मेघ्मा, मानेभञ्ज्याङ, पशुपतिनगर, छब्बिस र समालबुङका नाकाहरू सिल भएको छ ।

भारतको पश्चिम बङ्गाल राज्यमा ७ देखि १९ वैशाखसम्म लोकसभाको निर्वाचन ७ चरणमा भइरहेको छ । यता नेपालमा इलाम २ मा १५ वैशाखमा हुने उपनिर्वाचनलाई लक्षित गरेर नेपाल सरकारले बुधवार राति १२ बजेदेखि ७२ घण्टाका लागि नेपाल भारत सीमा क्षेत्र सिल गर्ने भएको छ ।

विगतको अभ्यास झैँ सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर निर्वाचन सुरक्षा योजना अन्तर्गत सीमा नाका सिल गरिने छ ।

इलाम २ का कुनै पनि क्षेत्रले भारतीय सीमा भने छुँदैन । भारतीय एसएसबी, बङ्गाल प्रहरी र भारतीय सीमा सुरक्षा प्रशासनसँग दुवै पक्षको निर्वाचन सुरक्षित बनाउन निरन्तर दोहोरो छलफल भइरहेको छ ।  यी दुई निर्वाचनका कारण सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले सतर्कता बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्