रिसिइबी साँध्न छिमेकीकी ३ वर्षीया छोरीको हत्या, आमाछोरी पक्राउ



काठमाडौँ । सिराहामा छिमेकको तीन वर्षीया छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिराहा नगरपालिका-१८ जरूवा लक्ष्मीनिया टोल बस्ने ४७ वर्षीया सोना देवी यादव र उनकी छोरी पूजाकुमारी यादव रहेकाछन् । सोनावतीकी श्रीमान् धनिकलाल यादव भने फरार छन् ।

छिमेकी रमेश यादवकी तीन वर्षीया छोरी रिया कुमारीको हत्या गरेको आरोपमा आमाछोरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका ले जनाएको छ । गत वैशाख १२ गते बिहान १० बजेतिर घर अगाडि खेलिरहेकी रमेशकी छोरी रिया हराएकी थिइन् ।

खोजतलासको क्रममा गत वैशाख १४ गते राति साढे ११ बजे छिमेकी धनिकलाल यादवको घरको छतमा जाने भर्‍याङ नजिकै बालिकाको शव फेला परेको थियो ।

मसुराको झ्याङ्टाभित्र कालो रंगको प्लाष्टिकको बोराभित्र बालिकाको शव फेला परेको थियो। अनुसन्धानको क्रममा परिवारसँगको रिसिइबी साँध्न धनिकलालको परिवारले रमेशको छोरीको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

उनका अनुसार करिब एक वर्षदेखि छिमेकी रमेश र धनिकलालको परिवारबीच झैझगडा हुने गरेको थियो । त्यही रिसिइबीका कारण धनिकलालको परिवारले घर अगाडि खेलिरहेकी बालिकालाई बिस्कुट दिई आफ्नो घरभित्र लगेर हत्या गरेको डिएसपी सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्