कोलकातासँग दिल्लीको हार



काठमाडौँ । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराएको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको कोलकाताले १६.३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । ओपनर फिल साल्टले अर्धशतक पूरा गरे । ३३ बल खेलेका उनले ३३ बलमा ७ चौका र ५ छक्का साथ सर्वाधिक ६८ रन बनाए ।

सुरेश ऐयर ३३ र वैंकेटस ऐयरले २६ रनमा नटआउट रहे । सुनिल नारिनले १५ र रिंकु सिंहले ११ रन जोडे । दिल्लीका अक्षर पटलेले २ र लिजाड विलियम्सले १ विकेट लिए ।

टस जितेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेटको क्षेतिमा १ सय ५३ रन बनाएको थियो । टोलीका लागि कुलदिप यादवले सर्वाधिक नआउट ३५ रन बनाए । उनले २६ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।

कप्तान रिसभ पन्तले २७ रन बनाएका थिए । ओपनर पृथ्वी शाहले १३, अर्का ओपनर जेक फ्रासेरले १२, अभिषेक पोरेलले १८, अक्षर पटेलले १५ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

कोलकाताका वरुण चक्रवर्तीले ३, वैभव अरोरा र हर्षित रानाले समान २ तथा मिचेल स्टार्क, सुनिल नारिनले समान १ विकेट लिएका थिए । ९ खेलमा १२ अङ्कसहित कोलकाता दोस्रो स्थानमा छ । शीर्षस्थानको राजस्थान रोयल्सको १६ अङ्क छ । दिल्ली ११ खेलमा १० अङ्कसहित छैटौँ स्थानमा छ । आइपिएलमा मङ्गलवार लखनउ सुपर जाइन्ट्स र मुम्बई इन्डियन्सबीच खेल हुनेछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्