मुम्बईविरुद्ध लखनऊको जित



काठमाडौँ । इंडियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार लखनऊ सुपर जाएन्ट्स विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा लखनऊले मुम्बई इंडियन्स माथि ४ विकेटको जित दर्ता गरेको हो ।

मुम्बईले दिएको १ सय ४५ रनको लक्ष्य लखनऊले १९.२ ओभरमा ६ विकेट गुमाएर भेटायो । अन्तिम तिर लखनऊका लागि केही कठिन देखिएको खेलमा मुम्बईले राम्रो बलिङ प्रदर्शन गरेको थियो । तर अन्त्यमा लखनऊ विजयी भयो ।

लखनऊको जितमा मार्कस स्टोइनिसले ४५ बलमा ७ चौका र २ छक्का सहित सर्वाधिक ६५ रन बनाए । यस्तै कप्तान केएल राहुलले २२ बलमा २८ रन जोडे । दीपक हुड्डाले १८ रन बनाए । निकोलास पुरन १४ रनमा नटआउट रहे ।

मुम्बईका लागि हार्दिक पान्ड्याले २ विकेट , नुवान थुसरा, मोहम्मद नबी र जेराल्ड कोट्जीएले समान १ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन जोड्यो । मुम्बईका लागि नेहल वाधेराले ४१ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ४६ रन जोडे । यस्तै टिम डेभिडले १८ बलमा ३६ रन जोडे ।

ओपनर ईशन किसनले ३२ रन बनाए । अन्य ब्याटरले उल्लखनिय प्रदर्शन गर्न सकेनन् । कप्तान हार्दिक पान्ड्या शून्यमा आउट भएका थिए भने रोहित शर्माले ४ रन मात्र बनाए ।

लखनऊका लागि मोहसिन खानले २ विकेट, मार्कस स्टोइनिस, नभिन उल हक, मयंक यादव र रवि विश्ननोइले समान १ विकेट लिए । जित पछि लखनऊ १० खेलमा १२ अंक सहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पराजित मुम्बई ९ खेलमा ६ अंक सहित नवौं स्थानमा छ ।आइपिएलमा बुधबार चेन्नाई सुपर किंग्स र पञ्जाब किंग्स भिड्ने छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्