जापानकी विदेश मन्त्री आज नेपाल आउँदै, आजै फर्किने



काठमाडौँ । जापानकी विदेश मन्त्री खामिखावा योको आज काठमाडौँ आउँदै छिन् । अप्रिल २६ बाट विदेश भ्रमणमा निस्किएकी विदेश मन्त्री खामिखावा श्रीलङ्काको राजधानी कोलम्बो हुँदै काठमाडौँ आउन लागेकी हुन् ।

उनले राष्ट्रपति रामचन्द्र पौडेल,  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र समकक्षी नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । भेटका क्रममा दुई देशबिचको सम्बन्ध सुदृढ गर्ने विषयमा कुराकानी हुने छ । नेपाल र जापान बिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्न लागेको अवसरमा उनको यो भ्रमणले दुई देशबिचको सम्बन्ध थप सुदृढ बनाउन मद्दत मिल्ने विश्वास छ ।

मन्त्री श्रेष्ठसँगको भेटवार्ता लगत्तै खामिखावा आजै काठमाडौँबाट टोकियो फर्किने जापानको विदेश मन्त्रालयले निकालेको सूचनामा उल्लेख छ । जापानकी विदेश मन्त्री खामिखावाले अप्रिल २६ देखि नेपाल र श्रीलङ्कासहित मादागास्कार, कोट डी आइवर, नाइजेरिया र फ्रान्सको भ्रमणमा निस्किएकी थिइन् । ४ मे मा श्रीलङ्का पुगेकी उनी त्यहाँ एक दिन बसेर ५ तारिख नेपालको राजधानी काठमाडौँ आउन लागेकी हुन् ।

नेपालमा सन् २००० मा जापानका तत्कालीन प्रधानमन्त्री योसिरो मोरीको भ्रमण भएको थियो । यो नै हालसम्मको उच्चस्तरीय भ्रमण हो । त्यसपछि सन् २०१९ मा जापानका तत्कालीन परराष्ट्र मन्त्री कोउनो तारोउको मन्त्री स्तरीय भ्रमण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्