गुजरातलाई बैंग्लोरले ४ विकेटले हरायो, अन्तिम ४ को सम्भावना जिवितै 



काठमाडौँ । रोयल च्यालेन्जर्स बैंग्लोरले इण्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा गएराति भएको खेलमा गुजरात टाइटन्सलाई ४ विकेटले हराएको छ । एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरात १९.३ ओभरमा १४७ रनमा अलआउट भएको हो ।

बैंग्लोरले १४८ रनको विजय लक्ष्य १३.४ ओभरमा ६ विकेटमा पूरा गर्‍यो । बैंग्लोरका लागि फाफ डु प्लेसिसले २३ बलमा ३ छक्का र १० चौका सहित ६४ रन बनाए । विराट कोहलीले २७ बलमा ४ छक्का र २ चौकासहित ४२ रन बनाए । दुवैले ९२ रनको ओपनिङ साझेदारी गरे ।

विलज्याक्स, रजत पाटिदार, ग्लेन म्याक्सवेल, क्यामरुन ग्रिनले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । दिनेश कार्तिक २१ र स्वप्लिन सिंह १५ रनमा नटआउट रहे । स्वप्निलले अन्तिम बलमा छक्का प्रहार गरेर टिमलाई जित दिलाए । बलिङतर्फ जोश लिटलले ४ विकेट लिए । नुर अहमदले २ विकेट हात पारे ।

यसअघि पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सका लागि राहुल तेबतियाले ३५, डेभिड मिलरले ३० र एम शाहरुख खानले ३७ रन बनाए ।
बलिङतर्फ २९ रन खर्चेर २ विकेट लिएका मोहम्मद सिराज प्लेअर अफ द म्याच बने ।

गएरातिको जितसँगै बैंग्लोरको ८ अङ्क भएको छ । बैंग्लोरले हालसम्म ११ म्याच खेलेको छ, जसमा सात वटा खेल हारेको छ । गुजरातलाई हराएर बैंग्लोर अङ्क तालिकाको सातौँ स्थानमा उक्लिएको छ र अन्तिम चारमा पुग्ने सम्भावना कायम राखेको छ ।

उसले पन्जाब किङ्गस, मुम्बई इण्डियन्स र गुजराजत टाइटन्सलाई पछि पार्न सफल भएको छ । मुम्बई इण्डियन्स ६ अंकसहित अन्तिम स्थानमा उकलीएको हो ।

प्रतिक्रिया दिनुहोस्