१०० रुपैयाँको नोटमा नेपाल नयाँ नक्सा राख्ने विषयमा भारतको असन्तुष्टि



काठमाडौँ । नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ नक्सा राख्ने निर्णय गरेकोमा भारतले असन्तुष्टि जनाएको छ । भारतीय विदेश मन्त्री एस जयशंकरले नेपालले एकतर्फी निर्णय गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

गत बिहीबार बसेको नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले एक सय रुपैयाँको नोटमा अहिलेको नक्साको सट्टा चुच्चे नक्सा राख्ने निर्णय गरेको थियो । त्यसबारे भारतका पत्रकारहरूले विदेश मन्त्री जयशंकरसँग जिज्ञासा राखेका थिए । त्यसको जवाफ दिने क्रममा विदेश मन्त्री जयशंकरले भने, ‘हाम्रो धारणा स्पष्ट छ, नक्सा परिवर्तन भए पनि धरातलीय यथार्थ परिवर्तन हुँदैन ।’

नेपाल सरकारको निर्णयबारे विस्तृत जानकारी नभएको बताउँदै उनले सीमाबारे दुई देशबिच स्थापित संयन्त्रमा छलफल भइरहेका बेला नेपालले एकतर्फी निर्णय गरेको उनको भनाइ रहेको छ । भारतीय सञ्चारमाध्यमहरूले नेपाल चीनको दबाबका कारण यस्तो गरिरहेको आरोप लगाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्