सन्दीपको पुनरावेदनमा आज पनि सुनुवाइ नहुने



काठमाडौँ । काठमाडौँ जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनमा दिएको पुनरावेदनमा आज पनि सुनुवाइ नहुने भएको छ । मुद्दालाई हेर्न नमिल्ने सूचीमा राखिएको छ। यसअघि पटक पटक सुनुवाइ स्थगित हुँदै आएको मुद्दाको सुनुवाइका लागि पेशी न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको इजालसमा तोकिएको थियो।

अघिल्लो पेसीमा इजलासले मुद्दालाई प्राथमिकतामा राखेर हेर्ने आदेश दिएको थियो । यसअघि वैशाख ३ गते उच्च अदालतले गौशाला २६ ले जन्मदर्तामा जन्म मिति सच्याउन दिएको निवेदन र जन्म मिति स्पष्ट खुल्ने कागजात झिकाउन आदेश दिएको थियो। न्यायाधीश द्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले गौशाला २६ ले जन्ममितिसम्बन्धी स्पष्ट हुने कागजात झिकाउन आदेश दिएको हो। यसअघि जिल्ला अदालतले पीडित गौशाला २६ को उमेर १८ वर्ष कटेको ठहर गरेको  थियो।

पीडितको उमेर १८ वर्ष कटेको भए पनि सन्दीपले सहमतिबिना नै शारीरिक सम्बन्ध राखेको भन्दै दोषी ठहर गरेको थियो। लामिछानेले गत फागुन २० गते उच्च अदालतमा पुनरावेदन दर्ता गराएका थिए। बलात्कार मुद्दामा आफू निर्दोष रहेको दाबी गरेका छन्।

जिल्ला अदालत काठमाडौँले जबरजस्ती करणी मुद्दामा लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको थियो। न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउनुपर्ने फैसला गरेको थियो।

नाबालिग बलात्कार गरेको आरोपमा गौशाला९२६ ले लामिछानेविरुद्ध गत वर्ष भदौ २१ गते गौशाला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्।  तर,अदालतले जबरजस्ती करणीको जाहेरी दिने किशोरी नाबालिग नरहेको ठहर गरेको थियो।

प्रतिक्रिया दिनुहोस्