टी-२० विश्वकपमा आक्रमण गर्ने आतंकवादी संगठनको धम्की



काठमाडौँ । पाकिस्तान र अफगानिस्तानमा सक्रिय आतङ्कवादी सङ्गठन आईएस खोरसानले टी-२० वर्ल्ड कप क्रिकेटमा आक्रमण गर्ने धम्की दिएको  रिपोर्ट सार्वजनिक भएको छ ।आयोजक वेष्ट इण्डिज क्रिकेटका अधिकारीले सुरक्षा अधिकारीहरूसँग मिलेर आवश्यक प्रबन्धका लागि काम गरिरहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय मिडियाहरूका अनुसार आतङ्कवादी सङ्गठनले वेष्टइण्डिज सहितका देशहरूलाई भिडियो म्यासेज पठाएर आक्रमणको धम्की दिइएको छ । आईएस खोरसानको अफगानिस्तान९पाकिस्तान शाखाले नशीर-ए-पाकिस्तान च्यानलमार्फत् पनि एक भिडियो सार्वजनिक गर्दै हमलाको धम्की दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । नशीर-ए-पाकिस्तान इस्लामिक स्टेटसँग सम्बन्धित प्रोपोगाण्डा च्यानल हो ।

क्रिकेट वेष्टइण्डिजका सीईओ जोनी ग्रेब्सले क्रिक बजसँगको कुराकानीमा आयोजक देश र प्रतियोगिता हुने सहरहरूमा लगातार निगरानी गर्न र सम्भावित खतराको सामना गर्न अधिकारीहरूसँग मिलेर काम गरिरहेको बताएका छन् । सुरक्षा आफूहरूको पहिलो प्राथमिकता रहेको भन्दै उनले आवश्यक प्रबन्ध मिलाइने बताएका छन् ।

टी-२० वर्लडकपका खेल वेष्टइण्डिज र अमेरिकामा जुन २ देखि २९ सम्म हुँदैछ । नेपाल पनि वर्ल्डकपमा सहभागी हुँदैछ । वर्ल्ड कप खेल्न नेपाली टोली वेष्टइण्डिज पुगिसकेको छ ।

टी-२० विश्वकपमा नेपाल रहेको समू ‘डी’ मा दक्षिण अफ्रिका, बङ्गलादेश, श्रीलङ्का र नेदरल्यान्ड्स छन् । नेपालले पहिलो खेल ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्ने छ । नेपालले १२ जुनमा श्रीलङ्कासँग, १५ जुनमा दक्षिण अफ्रिकासँग र १७ जुनमा बङ्गलादेशसँग खेल्ने छ । शीर्ष दुईमा रहन सके नेपालले सुपर ८ मा स्थान बनाउने छ ।

प्रतिक्रिया दिनुहोस्