अष्ट्रेलियामा अध्ययन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई थप महँगो



काठमाडौँ । अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई भिसा प्राप्त गर्न आवश्यक पर्ने बचतको रकम बढाएको छ । विदेशी विद्यार्थीको अत्यधिक चाप घटाउने गरी सार्वजनिक गरिएको आप्रवासन रणनीति कार्यान्वयन गर्नेक्रममा अष्ट्रेलियाले विद्यार्थीले जम्मा गर्नुपर्ने रकम पनि बढाएको हो ।

शुक्रवार १० मे देखि अन्तर्राष्ट्रिय विद्यार्थीहरूले भिसा प्राप्त गर्न कम्तीमा २९ हजार ७१० अष्ट्रेलियन डलर बचत गरेको हुनुपर्ने छ । बितेको सात महिनामा यो दोस्रो वृद्धि हो । गत अक्टोबरमा २१ हजार ४१ अष्ट्रेलियन डलरबाट बढाएर यसलाई २४ हजार ५०५ बनाइएको थियो ।

कोभिडको प्रतिबन्धपछि अत्यधिक बढेका विदेशी विद्यार्थीको भिसा अनुमति अनुपात घटाउन नयाँ आप्रवासन रणनीति अन्तर्गत अष्ट्रेलियाले अङ्ग्रेजीमा बढी स्कोरदेखि त्यहाँ बसाइ लम्ब्याउने सम्बन्धी यसअघिको व्यवस्थामा कडाइ गरेको छ ।

अष्ट्रेलियाकी गृह मामिला मन्त्री क्लेयर ओनिलले ३४ शिक्षा प्रदायकहरूलाई गलत तरिकाले विद्यार्थी भर्ना गरेको चेतावनीसहित पत्र पठाइसकेको बताएकी छन् । विद्यार्थी भर्नामा नक्कली काम गरेको पाइएमा उनीहरूलाई दुई वर्षसम्मको जेल सजाय र विद्यार्थी भर्ना प्रतिबन्ध लगाउन सकिने उनले चेतावनी दिएकी रोयटर्सले जनाएको छ ।

विद्यार्थीको शोषण गर्ने र अष्ट्रेलियाको शैक्षिक प्रतिष्ठा धमिल्याउने गतिविधिलाई कुनै स्थान नदिने उनले स्पष्ट पारेकी छन् । आर्थिक व्यवस्थामा कडाइसँगै अब अष्ट्रेलियामा परिवारका सदस्यका साथ विद्यार्थी भिसा प्राप्त गर्न आवश्यक ८४ लाख ५४३ अष्ट्रेलियन डलरलाई बढाएर अहिले १ लाख २ हजार पाँच सय बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्