वरिष्ठ अधिवक्ता बिडारीले सन्दीपको पक्षबाट बहस गर्ने



काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको कानुनी टिममा वरिष्ठ अधिवक्ता रामनारायण बिडारी पनि जोडिएका छन् । उच्च अदालतमा विचाराधीन मुद्दाका लागि सन्दीपले उनलाई ‘हायर’ गरेका हुन् । सन्दीपसँग आधा दर्जन कानून व्यवसायीको टिम छ, जसमा केही कहलिएका नामहरू छन् ।

पूर्वमहान्यायाधीवक्ता रमण श्रेष्ठ र वरिष्ठ अधिवक्ता शम्भु थापाले जिल्ला अदालतमा सन्दीपको पक्षबाट बहस गरेका थिए । यस्तै, वरिष्ठ अधिवक्ताहरू कृष्ण सापकोटा, मुरारी सापकोटा र सविता भण्डारीलगायत पनि उनको टिममा छन् । टिमको संयोजन भने अधिवक्ता सरोज घिमिरेले गरिरहेका छन् ।

अहिले बिडारी थपिएपछि सन्दीपको टिम थप मजबुत बनेको छ । देवानी तथा फौजदारी कानुनका विज्ञ बिडारी राजनीतिज्ञसमेत हुन् । उनी नेकपा माओवादीबाट राष्ट्रिय सभा सदस्य बनेका थिए ।

सन्दीपको मुद्दामा अर्को पेसी १ जेठलाई तोकिएको छ । यसअघि गत २३ वैशाखको पेसी स्थगित भएको थियो । अहिलेसम्म एक पटक भएको सुनवाइमा सन्दीपको एक मात्रै वकिल मुरारी सापकोटाले बहस गर्ने मौका पाएका छन् । पटक–पटक पेसी सरिरहेकाले भोलि ९जेठ १ गते तोकिएको सुनवाइ पनि हुन्छ भन्न सकिने अवस्था छैन । गौशाला २६ का वकिलहरू मुद्दा पछाडि धकेल्ने प्रयासमा छन् । सकेसम्म विश्वकप पछाडिसम्म धकेल्न पाएको खण्डमा परिस्थिति फेरबदल हुने र आफूहरूको पक्षमा फैसला आउने आशा उनीहरूलाई छ । सन्दीपको पक्ष भने चाँडै सुनवाइ होस भन्ने पक्षमा छ । यदि मुद्दाको चाँडो किनारा लागेर सन्दीपले सफाइ पाएको खण्डमा उनी अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा भाग लिन सक्ने अवस्था हुन्छ ।

प्रतिक्रिया दिनुहोस्