![](https://i0.wp.com/www.thenepaltop.com/wp-content/uploads/2024/05/dirgha.png?fit=1280%2C720&ssl=1)
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बिहीबार विश्वासको मत लिने भएका छन् । बिहान सवा १० बजेदेखि सुरु हुने प्रदेश सभाको बैठकमा सोडारीले विश्वासको मत लिने लागेका हुन् ।
६ वैशाखमा एकीकृत समाजवादीसहित एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टीको रञ्जिता श्रेष्ठ पक्ष र स्वतन्त्र सांसद डा।ताराप्रसाद जोशीको समर्थनमा सोडारी मुख्यमन्त्री नियुक्त भएका थिए ।
२१ वैशाखमा विश्वासको मत लिने तयारी गरे पनि एमालेले तत्काल मत दिन नसकिने अडान लिएपछि मुख्यमन्त्री सोडारी रोकिएका थिए । अहिले भने एमालेले सोडारीलाई विश्वासको मत दिने तर तत्काल सरकार बाहिर बस्ने निर्णय गरिसकेको छ । नेकपा माओवादी केन्द्रले विश्वासको मतबारे निर्णय लिन प्रदेश संसदीय दलको बैठक बोलाएको छ भने नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षले भने मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जनाएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक भएको भन्दै प्रदेशसभाको बैठक बहिष्कार गर्ने भएको छ । यो विषयमा निर्णय लिन काँग्रेसको प्रदेश संसदीय दलको बैठक जारी छ ।