![](https://i0.wp.com/www.thenepaltop.com/wp-content/uploads/2024/05/accident-1.png?fit=1280%2C720&ssl=1)
काठमाडौँ । बुधवार बेलुका पाल्पामा भएको बोलेरो जिप दुर्घटनामा परी एक जना बालकसहित २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निस्दी गाउँपालिका-४ का ६ वर्षीय राजीव सुनारी र सोही वडाका २० वर्षीय तेजन सोमै रहेका छन् ।
उनीहरूको उपचारका क्रममा गएराति मृत्यु भएको हो। दुर्घटनामा १३ जना घाइते भएका छन् । बुधवार बेलुका नवलपुर जिल्लाको अरूणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका९४ तर्फ आउँदै गरेको लु १ ज ३३२४ नम्बरको जिप दुर्घटना भएको थियो । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिपका चालकसहित अन्य १० जनाको अवस्था भने सामान्य छ ।
दुर्घटनामा परी घाइते भएकाहरूको नवलपरासीको मध्य बिन्दु अस्पतालमा उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनामा पर्ने सबै निस्दी ४ का स्थानीय हुन् । १५ जना सवार उक्त जिप बुधवार बेलुका पौने ६ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण नखुलेको र थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।