उद्योगी राज्यलाई कर छल्ने, राजनीतिक दलहरू सहयोग गर्ने अनि सरकार टुलुटुलु हेर्ने !



रुषा थापा, भक्तपुर । विद्युत् प्रयोग गर्ने तर महसुस भुक्तानी नगर्ने उद्योगीहरूको सङ्ख्या बढ्दो छ । सरकारले पटक—पटक महसुस भुक्तानी गर्न आग्रह गर्दै आए पनि अधिकांश उद्योगीहरूले अहिले पनि वर्षौँदेखिको विद्युत् महसुस भुक्तानी गरेका छैनन् । उद्योगीहरूले विद्युत् महसुसबापतको खर्बौँ रकम सरकारलाई भुक्तानी गर्न बाँकी छ ।

महसुस तिर्न बारम्बार आग्रह गरे पनि अटेरी गरेपश्चात् केही महिनाअघि नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुस भुक्तानी नगर्ने उद्योगहरूमा लाइन नै काटिदियो । पछि उद्योग व्यवसायी महासङ्घले किस्ताबन्दी रूपमा महसुस भुक्तानी गर्ने भनेपछि प्राधिकरणले फेरि लाइन जोडिदिएको थियो । तर, अहिले पनि धेरै उद्योगीहरूले महसुस तिरेका छैनन् ।

सरकारको निर्देशन र कानुनलाई नै लत्त्याएर उद्योगीहरू विद्युत् महसुस भुक्तानी गर्न अटेरी गरिरहेका छन् । उद्योग व्यवसायी राज्यलाई कर तिर्दैनन् । कर तिर्नुपर्ने भएपछि विभिन्न बहाना बनाउँछन् । र, राजनीतिक आड लिन्छन् । सरकार पनि कर उठाउन सक्दैन । ठुलादेखि साना व्यापारीसमेत राज्यलाई कर तिर्दैनन् । राजनीतिक दलका नेताहरू सार्वजनिक कार्यक्रममा कसैले पनि कर छल्न नपाउने बताउँछन् ।

तर, पर्दाभित्र बसेर उनीहरूलाई उद्योगी, व्यापारीहरूसँग चन्दा उठाउँछन् । र, कर छल्न सहयोग गर्छन् । अर्थमन्त्री, प्रधानमन्त्री र उद्योग मन्त्री उद्योग व्यवसायीहरू जे–जे भन्छन्, त्यही गर्छन् । सत्तामा बसेकाहरू सरकारले सबैलाई करको दायरामा ल्याएको दाबी गर्छन् । यदि सरकारले मुलुकभित्र व्यापार, व्यवसायी गर्ने जोकोहीलाई पनि करको दायरामा ल्याएको हो भने सरकारी खर्च धान्न किन विदेशीसँग ऋण लिइयो ?

किन नेपाली जनताको टाउकोमा २७ खर्ब विदेशी ऋण बोकाइयो ? व्यवसायी होस् या उद्योगी, व्यापारीहरूले राजनीतिक दल, कर्मचारी र सरकारमा बसेकाहरूको आडमा कर छल्दै आएका छन् । सरकारमा बस्नहरु पनि राज्यको हितमा हुने काम गर्दैनन्, सीमित व्यक्ति वा व्यापारीको लागि काम गर्छन् । यहाँ सबै दलको कार्यकर्ता मात्र छन् । भन्ने बेला आफूलाई उद्योगी, व्यवसायी वा व्यापारी भने पनि सबै दलको कार्यकर्ता हुन् ।

सरकारका सम्बन्धित निकायहरू कसले कर तिरेको छ वा छैन ? भनेर अध्ययन, अनुगमन गर्दैन । केही दिनअघि राजधानीको न्युरोडमा एउटा सटरको मासिक चार हजार रुपैयाँ भाडा लिइएको बाहिरियो । सो घरधनीले महानगर वा वडामा उक्त विवरण बुझाएको थियो । न्युरो डमा एउटै सटरको मासिक २० हजारदेखि १८ लाखसम्म भाडा असुलिन्छ । यसरी राज्यलाई कर छल्न घरधनीहरुले सस्तोमा भाडामा लगाएको झुट्टो विवरण बुझाउने गरेका छन् ।

काठमाडौँ उपत्यकामा एउटा सानो, अँध्यारो कोठाको मासिक ५ हजारदेखि २० हजार तिर्नुपर्छ । एक फ्ल्याटको ३० हजारदेखि दुई लाख पर्छ । र, सटरको १८ लाखसम्म असुल्छन् घरधनीहरू । झन् खाली सटर त २० लाखदेखि ६० लाखसम्म किनबेच हुन्छ ।

घरधनीहरूले एउटै घरमा करोडदेखि अर्बौँ लगानी गरेका छन् । भाडामा लगाएर मासिक लाखदेखि करोड उठाइन्छ । तर, लगानी र आम्दानीबापतको राजस्व घरधनीहरू राज्यलाई तिर्दैनन् । एक पटक घर बनाएपछि सयौँ वर्षसम्म केही पनि चेकजाँच गरिदैंन । यसले जोखिमपूर्ण घर समेत घरधनीहरू भाडामा लगाएर मोटो रकम असुलिरहेका छन् ।

अब सरकारले घरको पनि छ/छ महिनामा प्राधिकरण चेकजाँच गर्नुपर्ने व्यवस्था मिलाउनुपर्छ । सँगै घर पनि घरेलु तथा कम्पनीमा दर्ता गराई पञ्जीकण गरिनुपर्छ । यस्तो नगर्ने घरधनीहरूलाई घर सम्पन्नताको प्रमाणपत्र नदिने वा राज्यबाट उपलब्ध हुने सेवा सुविधाबाट वञ्चित गराउने नीति, नियम निर्माण गर्नुपर्छ ।

सरकारले ठाउँअनुसार जग्गाको मूल्य निर्धारण गरेको छ । आनाको एक हजारदेखि ६६ लाख ५० हजारसम्म मूल्य तोकिएको छ । जसअनुसार दुर्गम जिल्लामा जग्गाको सरकारी मूल्य आनाको एक हजार छ भने राजधानीको न्युरो डमा साढे ६६ लाख । अहिले दुर्गम जिल्लामा आनाको ३०/३५ लाखमा किनबेच भइरहेको छ । न्युरो डमा आनाकै १३/१४ करोडमा जग्गा खरिदबिक्री हुने गरेको छ ।

फेरि त्यो जग्गा नामसारी गर्ने समयमा तोकिएको सरकारी मूल्यको मात्र राजस्व बुझाइन्छ । यसले गर्दा पनि राज्यलाई हानिनोक्सानी पुगेको छ । पछिल्लो समय घरैपिच्छे पसल सञ्चालन भएको देखिन्छ । तर, अधिकांश व्यवसायीहरूले दर्ताबिनै व्यवसाय सञ्चालन गरिरहेका छन् । यसतर्फ पनि सरकारको ध्यान गएको छैन । यता, निजी प्लेटको सवारीसाधन होस् या भाडाको ।

त्यस्ता गाडीमा तीन लाखदेखि २५ करोडसम्म लगानी गरिएको छ । एकले २५ करोडमा गाडी बेच्छ, अर्कोले किन्छ । तर, त्यो गाडी नामसारी गर्ने समयमा राज्यले जम्मा आठ सय रुपैयाँ राजस्व पाउँछ । निजी प्लेटको होस् या भाडाको गाडीले लगानी गरेबापतको राजस्व राज्यलाई तिर्दैनन् । एउटै गाडीले दैनिक पाँच हजारदेखि ५० हजारसम्म कमाउँछन् । त्यसको पनि कर तिर्दैनन् ।

यातायात व्यवसायीसँग सरकारले विभिन्न शीर्षकमा लिनुपर्ने राजस्व तीन दशकदेखि बढेको छैन । यातायात क्षेत्रमा लामो समयदेखि सिण्डिकेट छ । हरियो/कालो प्लेटको ट्याक्सी, फो स्टक ट्याम्पो र ढुवानी गाडीको नयाँ दर्ता खुलेको छैन । यातायातमा एउटै व्यवसायीको रजगज चलिरहेको छ । खुल्ला प्रतिस्पर्धा हुन सकेको छैन । एकाधिकार कायमै छ ।

त्यसैले, अब सरकारले यातायात क्षेत्रमा भएको सिण्डिकेट व्यवहारिक रूपमै हटाउनुपर्छ । अहिले सिण्डिकेट हटेको केबल कागजमा सीमित छ । हरियो/कालो प्लेटको ट्याक्सी, फो स्टक ट्याम्पो र ढुवानी गाडीको नयाँ दर्ता खोलिनुपर्छ । यसो गरेमा नयाँ व्यवसायी थपिने छन् सँगै राज्यको ढुकुटीमा पनि अर्बौँ राजस्व आउनेछ ।

अहिले निजी प्लेटको दुई पाङ्ग्रे सवारीसाधनको प्रदूषण चेकजाँच हुँदैन । यस्तो सवारीसाधनको पनि छ/छ महिनामा प्रदूषण चेकजाँच गर्नुपर्ने व्यवस्था गरिनुपर्छ । भाडाको गाडीको छ/छ महिनामा प्रदूषण चेकजाँच गर्नुपर्छ । जसअनुसार छ महिनाको जाँच पास र प्रदूषणको चार/चार सय र रोडपर्मिेटको आठ सय रुपैयाँ तिर्नुपर्छ ।

निजी प्लेटको सवारीसाधनको भने वार्षिक रूपमा प्रदूषणको चार सय रुपैयाँ तिरिन्छ । अब सरकारले यो पनि बढाउनुपर्छ । यसलाई दोब्बर बनाउनुपर्छ । अहिले भाडाका गाडीहरू एक पटक घरेलु तथा कम्पनीमा दर्ता भएपछि पाँच वर्षसम्म नवीकरण गर्नुपर्दैन । पञ्जी करण पनि एक चोटि गरे पनि पाँच वर्षसम्म नवीकरण गर्नुपर्दैन ।

त्यसैले, दर्ता नवीकरण तथा पञ्जी करण नवीकरण पनि वर्षौपिच्छे गर्नुपर्ने व्यवस्था सरकारले गर्नुपर्छ । योसँगै निजी प्लेटको सवारीसाधन पनि घरेलु तथा कम्पनीमा दर्ता गरी पञ्जी करण गर्नुपर्ने र भाडाको गाडी जसरी राजस्व उठाउने भनेर सरकारले निर्णय गर्नुपर्छ । यसो गरेमा राज्यको ढुकुटीमा राजस्वको ओइरो लाग्नेछ ।

बैङ्कले सय रुपैयाँ कित्तामा सेयर निष्कासन गर्छ । व्यक्ति तथा संस्थाले सय रुपैयाँमा नै त्यो सेयर किन्छ । अर्कोलाई बेच्दा १७ सयमा बेच्छ । अनि नामसारी गर्ने समयमा सय रुपैयाँको मात्र राजस्व राज्यलाई तिरिन्छ । त्यसैले, यसतर्फ पनि सरकारका निकायहरूको ध्यान जान जरुरी छ । अहिले सरकारी सेवाबाट अवकाश प्राप्त कर्मचारीहरूलाई सरकारले महिना मर्नु अगावै पेन्सन हालिदिन्छ ।

महिना दिनअघि नै पेन्सन आएपछि कर्मचारीहरू त्यो रकम महँगो ब्याजमा लगाउँछन् । कतिपय बैङ्क, वित्तीय संस्थामा राखेर ब्याज प्राप्त गर्छन् । त्यसैले, अब सरकारले महिना मरेपछि मात्र पूर्वकर्मचारीहरुलाई पेन्सन दिनुपर्छ । यसो गरेमा महिनाभरिको ब्याज राज्यकै ढुकुटीमा जान्छ । अहिले सरकारले जेठ नागरिक, अपाङ्ग, एकल महिलालाई दिइने भत्तामा कर काट्दैन ।

त्यसैले, अब यसमा पनि कर लगाउनुपर्छ । यता, जनप्रतिनिधि तथा कर्मचारीहरूलाई दिएको तलब भत्ता र सेवा सुविधा पनि कटौती गरिनुपर्छ । दैनिक खर्च घटाउनुपर्छ । सरकारले सरकारी खर्च घटाउनुपर्छ अनि राजस्व उठाउनुपर्छ । यसो गरेमा सरकारले विदेशीसँग ऋण लिनुपर्दैन । आफैँ राज्यको ढुकुटीमा राजस्वको ओइरो लाग्छ । र, विदेशीको ऋण समेत तिर्न सकिन्छ । अहिले सरकार कर उठाउन सक्दैनन् त खर्च चाहिँ बढेको बढ्यै छ ।

खर्च धान्न विदेशीसँग धमाधम ऋण लिइरहेको छ, सरकार । यसैले, अब सरकारले विदेशीसँग ऋण लिने होइन कर उठाउनेतर्फ ध्यान दिनुपर्छ । सत्तामा बसेकाहरू व्यवसायीको मागअनुसार चल्छन् । व्यवसायीहरू राज्यलाई गलाएर, सर्वसाधारण ठगेर विदेशीमा कालोधन जम्मा गरिरहेका छन् । अनि यस्ता राष्ट्रघातीहरूलाई कसरी उद्योगी, व्यवसायी वा व्यापारी भन्ने ?

अहिले निजी सङ्घसंस्था, होटेल, रेस्टुरेन्ट, यातायात वा घरायसी काम गर्नेहरूलाई हातमै तलब दिइन्छ । यसले श्रमिकहरूले सरकारले तोकेबमोजिम तलब पाएका छैनन् त राज्यले पनि कर पाएको छैन । त्यसैले, अब जुनसुकै सङ्घसंस्थाले पनि अनिवार्य बैङ्कमार्फत तलब दिनुपर्छ सरकारले निर्णय गर्नुपर्छ । सरकारले अब सबैलाई करको दायरामा ल्याउनुपर्छ । सरकारी खर्च कटौती गर्नुपर्छ । र, विदेशीसँग ऋण नलिने निर्णय गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्