मेयर बालेनले चेतावनी दिएको एक घण्टा नबित्दै रिहा भए महानगरका चालक



काठमाडौँ । काठमाडौँ महानगरपालिकाको फोहोर बोक्ने गाडीका चार जना चालक रिहा भएका छन्। महानगरका प्रमुख बालेन शाहले सामाजिक सञ्जालमार्फत चालकलाई तत्काल रिहा नगरे सिंहदरबार लगायत सबै पार्टी कार्यालयको तथा नेताहरूको घरको फोहोर नउठाउने चेतावनी दिएका थिए।

उनले सामाजिक सञ्जालमा स्ट्याटस लेखेको एक घण्टा नबित्दै चालकहरू रिहा भएका हुन्। मेयर शाहले नियन्त्रणमा लिइएका चालकहरूलाई स–सम्मान रिहा गरिएको जानकारी दिएका छन्।

चालकको रिहाइपछि पुन अर्को स्ट्याटस लेख्दै उनले भनेका छन् ‘जोकोहीले यत्ति बुझ्नुहोला । पदमा तलमाथि होला, भूमिकामा तलमाथि होला। तर नियम, कानुन र भूमिकामा बस्ने हरेक कर्मचारीको, हरेक महानगरवासीको आत्मसम्मान हुन्छ। त्यसमा कसैले सम्झौता गर्न पाइँदैन। काठमाडौँ महानगर यसमा संवेदनशील छ।’

महानगरले आफ्ना कर्मचारीमाथि हुने अनाहकको अपमान नसहने बालेनको भनाइ छ। यसअघि उनले फेसबुकबाटै भ्रष्टलाई समाउन नसक्ने सरकारले चालक समाएको भन्दै नेताहरूको घरबाट फोहोर नउठाउने चेतावनी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्