राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव सर्वसम्मतबाट पारित



काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा यही जेठ १ गते सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएकामा उहाँप्रति धन्यवाद ज्ञापन गरेको छ । बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तुत गर्नुभएको धन्यवादको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो ।

प्रस्तावमा ‘राष्ट्रपतिबाट नेपालको संविधानको धारा, ९५ बमोजिम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई २०८१ जेठ १ गते मङ्गलवारका दिन गर्नुभएको सम्बोधनका लागि प्रतिनिधिसभाको यो बैठक राष्ट्रपतिमा धन्यवाद ज्ञापन गर्दछ’ भनिएको छ ।

राष्ट्रपतिको सम्बोधनपछि प्रतिनिधिसभाबाट धन्यवाद ज्ञापनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची भए पनि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको अवरोधका कारण निरन्तर प्रभावित भएको थियो ।

त्यसअघि बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गर्नुभएको सम्बोधनको प्रति टेबुल गर्नुभएको थियो । प्रतिपक्षी दल काँग्रेसको वेल घेराउ र नाराबाजीका बिच उक्त प्रस्ताव पारित भएको हो ।

प्रतिक्रिया दिनुहोस्