हैदराबादलाई हराउँदै कोलकाता फाइनलमा



काठमाडौँ । सनराईजर्स हैदराबाद माथि सानदार जित दर्ता गर्दै कोलकत्ता नाईट राइडर्स इंडियन प्रिमियर लिग ९आइपिएल० को फाइनलमा प्रवेश गरेको छ ।पहिलो क्वालिफायरमा मंगलबार हैदराबाद विरुद्ध ३८ बल बाँकी छँदै ८ विकेटको जित दर्ता गर्दै कोलकाता तेस्रो उपाधि नजिक पुगेको हो ।

हैदराबादले दिएको १ सय ६० रनको लक्ष्य कोलकाता १३.४ ओभरमै २ विकेट मात्र गुमाएर भेट्टायो । कोलकत्ताको जितमा कप्तान श्रेयस ऐयरले २४ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ५८ रनको अविजित इनिङ खेले । यस्तै वेंकटेश ऐयर २८ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ५१ रनमा अविजित रहे ।

ओपनरद्वय रहमनुल्लाह गुरबाजले २३ र सुनिल नरिनले २१ रन बनाएका थिए । हैदराबादका कप्तान प्याट कमिन्स र नटराजनले समान १ विकेट लिए । त्यसअघि अहमदाबादमा टस जितेर ब्याटिङ गरेको हैदराबाद १९.३ ओभरमा १ सय ५९ रनमा समेटियो । हैदराबादका लागि राहुल त्रिपाठीले ३५ बलमा सर्वाधिक ५५ रन जोडे । हेनरिच क्लासनले २१ बलमा ३२ रन जोड्दा कमिन्सले २४ बलमा ३० रन बनाए ।

कोलकाता लागि मिचेल स्टार्कले ३ , वरुण चक्रवर्तीले २ विकेट लिए । वैभव अरोरा, हर्षित राना, सुनिल नरिन र आन्द्रे रसेलले समान १ विकेट लिए । कोलकाताले आइतबार उपाधिका लागि खेल्नेछ । हैदराबादले भने फाइनल पुग्ने दोस्रो मौका पाउनेछ । सो अवसर तेस्रो र चौथो स्थान हासिल गरेका राजस्थान र बेंगलूरु बीचको एलिमिनेटर खेलको विजेता विरुद्ध हुनेछ । एलिमिनेटर खेल बुधबार हुँदैछ । दोस्रो क्वालिफायर भने शुक्रबार चेन्नईमा हुनेछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्